३२ असार,जनकपुर । बजार मूल्यभन्दा कम सरकारी खरिद मूल्य निर्धारण भएपछि किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामलाई गहुँ बिक्री गरेका छैनन्। सरकारले तोकेको समर्थन मूल्य बजार मूल्यभन्दा सस्तो हुँदा किसानहरूले आफ्नो उत्पादन निजी क्षेत्रका व्यवसायीलाई उपलब्ध गराइरहेका छन्।
गहुँ खरिदमा सरकारी लक्ष्य प्रभावित
सङ्घीय सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ ३८ पैसाका दरले गहुँ खरिद गर्ने मूल्य तोकेको थियो। तर, जनकपुरसहितका बजारमा गहुँको मूल्य प्रतिक्विन्टल ४ हजार ४०० रुपैयाँसम्म रहेको छ। यसैले किसानहरू सरकारी कार्यालयमा मूल्य जानकारी लिन आए पनि बिक्री गर्न नआएको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए।
यस वर्ष धनुषा र महोत्तरीका किसानबाट २ हजार ५०० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखिएको थियो। यसअन्तर्गत प्रतिकिसानबाट ५० क्विन्टल र प्रति सहकारी संस्थाबाट ५०० क्विन्टल गहुँ खरिद गर्ने योजना बनाइएको थियो। गत फागुन र चैतमा काटिएको गहुँ खरिदका लागि कार्यालयले सूचनासमेत प्रकाशित गरी बिक्रीका लागि किसानलाई आग्रह गरेको थियो। कार्यालयको हाताभित्र निःशुल्क काँटासमेत सञ्चालन गरिएको थियो।
धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीको गहुँ खरिदसम्बन्धी समितिको बैठक बसेर खरिद प्रक्रिया सुरु भए पनि किसानहरूले सरकारी कार्यालयमा गहुँ बिक्री नगरेको थापाले बताए।
धान खरिद लक्ष्य पनि पूरा भएन
चालु आर्थिक वर्षमा धान खरिदको लक्ष्य पनि पूरा हुन सकेको छैन। ३२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएकामा ५ हजार ३४६ क्विन्टल मात्र खरिद गरिएको कार्यालयले जनाएको छ। यो लक्ष्यको तुलनामा २६ हजार ६५४ क्विन्टल धान कम खरिद भएको हो।
सरकारले प्रतिक्विन्टल ३ हजार ५८० रुपैयाँका दरले धान खरिद गर्ने निर्देशन दिएको थियो, तर बजारमा धानको मूल्य करिब ४ हजार रुपैयाँ प्रतिक्विन्टलमा बिक्री भइरहेको छ। यसै कारण किसानले आफ्नो उत्पादन निजी क्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको प्रमुख थापाले बताए। कार्यालयले लक्ष्यप्राप्त गर्न चारवटा सहकारी संस्थासँग धान खरिदसम्बन्धी सम्झौता गरे पनि किसान नआएकाले लक्ष्य पूरा हुन नसकेको कार्यालयका कर्मचारीले बताएका छन्।















