Logo

३२ असार,काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसका शिक्षकहरूले स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पारेका छन्। असार १९ गतेदेखि आन्दोलित भएका प्राध्यापकहरूले असार २५ गतेदेखि देशभरका ५ वटा क्याम्पसको पठनपाठन रोकेका हुन्।

केन्द्रीय हस्तक्षेपविरुद्ध आन्दोलन
इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयको आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकार ऐन विपरीत केन्द्रले कटौती गरेको शिक्षकहरूको आरोप छ। प्राध्यापक संघ पुल्चोकका सहसचिव रोशन कार्कीका अनुसार, २०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन्।

“थापाथली क्याम्पसका सरहरू पनि पुल्चोकमा कोणसभामा आउनु भएको छ। डेढ दुई सय जना छौं। स्वायत्तताको अधिकार नपाएसम्म आन्दोलन जारी राख्छौं,“ कार्कीले भने। शिक्षकहरूले २०८० सालदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएको र सुनुवाइ नभएपछि अहिले पठनपाठन नै रोक्न बाध्य भएको बताएका छन्।

माग र प्रभाव
शिक्षकहरूको प्रमुख माग संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने रहेको छ। कार्कीले “कार्यकारी परिषद्ले विकेन्द्रीकरण स्थापित छ भनेर पत्र नलेखेसम्म आन्दोलन रोकिदैन“ भन्दै अडान दोहो¥याएका छन्। यसअघि शिक्षकहरूले सामूहिक राजीनामा समेत दिएका थिए।

शिक्षकहरूको यस आन्दोलनका कारण पुल्चोक, थापाथली, पूर्वाञ्चल, पश्चिमाञ्चल र चितवन क्याम्पस लगायतका इन्जिनियरिङ क्याम्पसहरूमा पठनपाठन ठप्प भएको छ, जसले गर्दा हजारौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

समाधानको प्रयास
यस समस्या समाधानका लागि त्रिवि केन्द्रीय कार्यालयले पहल गर्ने भएको छ। त्रिवि केन्द्रीय कार्यालयका एक उच्च अधिकारीका अनुसार, आन्दोलनरत पक्षसँग वार्ता र समस्या समाधान गर्न समिति गठन गर्ने तयारी भइरहेको छ। “विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ। समस्या समाधान गर्न एउटा कमिटी गठन हुन्छ,“ ती अधिकारीले बताए।


सम्बन्धित समाचार
भर्खरै