३२ असार,वीरगञ्ज । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयमै नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार, नगरप्रमुख साहले एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानी दिनु पर्ने कार्यको सन्दर्भमा एक लाख रुपैयाँ घुस मागिरहेका थिए। उनी दिउँसो करिब १ः४५ बजे उक्त रकम लिँदै गरेको अवस्थामा समातिएका हुन्।
सूचना प्राप्त भएलगत्तै अख्तियारको टोलीले योजनाबद्ध रूपमा निगरानी बढाएको र प्रमाणसहित पक्राउ गरिएको जनाएको छ। घटनापछि टोलीले घटनास्थलमा आवश्यक मुचुल्का तयार गर्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।
यस घुस प्रकरणले पुनः एकपटक स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ। अख्तियारले यस विषयमा थप अनुसन्धान अघि बढाइने जनाएको छ।















