३२ असार,काठमाडौं । निजामती विधेयकमा भएको विवादास्पद फेरबदलका सम्बन्धमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छानबिन समितिले बयान लिन सुरु गरेको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा बनेको सात सदस्यीय छानबिन समितिले खतिवडाको बयान लिइरहेको छ।
विवादको चुरो भनेको राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफलपछि तयार पारिएको मस्यौदामा ’राजीनामा दिएका वा अवकाशपछि दुई वर्षसम्म कुनै निकायमा नियुक्ति हुन नमिल्ने’ प्रावधान थियो। तर, अन्तिममा उक्त मस्यौदामा ’सरकारले नियुक्ति गरेको बाहेक’ भन्ने शब्दलगायतका वाक्यांश थप भई सोही नै प्रतिनिधिसभाले पारित गरेपछि विवाद उत्पन्न भएको थियो।
समितिको प्रतिवेदनमा यो कुरा कसरी घुस्यो भन्ने विषयमा प्रश्न उठेपछि परियारको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।















