३२ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। महानगरको १७औँ नगरसभाको दोस्रो बैठकले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो।
यसअघि गत असार २९ गते बसेको १७औँ नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी थिइन्। सार्वजनिक गरिएको अनुमानित बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने बताइएको छ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वका कारण बजेट ल्याउन ढिलाइ भएको थियो। बजेट ल्याउन ढिला भएको भन्दै उपप्रमुख डंगोलले माफीसमेत मागेकी थिइन्।















