१ साउन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काममा ढिलाइ र अनियमितता भएको भन्दै नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले गम्भीर चासो व्यक्त गरेका छन् ।
एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सुरुङ ‘टनेल’ को ‘ब्रेक थ्रु’ भए पनि बाँध निर्माणको काम सुस्त गतिमा अघि बढेको र ठेक्का व्यवस्थापनमा अनियमितता भएको उनले आरोप लगाएका छन् ।
तराई–मधेसका ५ जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउनु, ३१.७ मेगावाट बिजुली उत्पादन गर्नु र वार्षिक १५० अर्ब रुपैयाँ राजस्व संकलन गर्नुका साथै मधेसमा खानेपानीको व्यवस्थापन गर्नु आयोजनाको लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजनाको अहिलेसम्म १३ अर्ब रुपैयाँ चर्को ब्याजमा ऋण लिई खर्च भइसकेको सांसद दाहालले बताए ।
सांसद दाहालका अनुसार, बाँध निर्माणको ठेक्का पाएको पटेल रमण निर्माण कम्पनीले आजको दिनसम्म ५९ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा मात्र २ प्रतिशत मात्रै काम पूरा गरेको छ। तर, कम्पनीलाई ३२ करोड भुक्तानी गर्नुपर्नेमा १ अर्ब ९७ करोड २२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
यस विषयमा सम्मानित संसदमा दर्जनौं पटक आवाज उठाउँदै र मन्त्रालय धाउँदै आएको पनि उनले बताए । ठेक्का तोडेर समय अवधिभित्रै सम्पन्न गर्न इच्छुक नयाँ निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का सम्झौता गर्न आफूहरूबीच ‘भद्र सहमति’ भएको समेत उनले दाबी गरेका छन् ।
तर, यसको विपरीत ऊर्जा मन्त्रीले फिल्ड अनुगमन गर्ने भनी स्थलगत भ्रमणमा गएर ठेकेदारलाई भेटेपछि मातहतका निकायलाई ठेक्का नतोड्न निर्देशन दिएको भन्दै सांसद दाहालले प्रश्न उठाएका छन् । दाहालले तरमाराहरूले राष्ट्रलाई खर्बौं घाटा लगाउने भए भनेर चिन्ता पनि व्यक्त गरेका छन् ।
सांसद दाहालले मधेसका सांसद तथा आम जनतालाई पनि यी ‘तरमारा’ हरूलाई तह लगाउन साथ दिन आग्रह गर्दै मधेसमा तत्काल पानी र रासायनिक मलको व्यवस्था गर्नसमेत माग गरे ।















