१ साउन, काठमाडौं । बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपमा नेपालले आज ९साउन १ गते० आफ्नो चौथो खेलमा श्रीलंकासँग खेल्दैछ। डबल राउन्ड रोबिन लिगमा सञ्चालित यस प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रो पटक खेल्न लागेको हो। यो खेल श्रीलंकासँगको लगातार दोस्रो भिडन्त पनि हुनेछ। मंगलबार भएको अघिल्लो खेलमा नेपालले श्रीलंकालाई ७(० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो। आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ। यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएका खेलहरू भारी वर्षाका कारण मैदान बिग्रिएपछि अबका चार खेलहरू (सातौं, आठौं, नवौं र दशौं) बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा सारिएको छ। मंगलबारको खेलमा वर्षाले गर्दा बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसकी अर्को मैदानमा खेलाइएको थियो भने नेपालकै खेल पनि ढिला गरी अर्को मैदानमा सुरु भएको थियो।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो। यता, श्रीलंकाले आफ्नो पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो। प्रतियोगितामा हालसम्मको अंक तालिकाअनुसार, बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा रहेको छ। नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ भने ३ अंक भएको भुटान तेस्रो स्थानमा छ। श्रीलंकाले भने अझै अंक जोड्न सकेको छैन। चार टोली सहभागी यो च्याम्पियनसिप डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइएको छ। अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। आजको खेलमा श्रीलंकालाई पराजित गरेर नेपालले अंक तालिकामा आफ्नो स्थिति थप सुदृढ बनाउने लक्ष्य राखेको छ।

















