Logo

१ साउन, काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ को औपचारिक सुरुवात भएको छ ।

सरकारले गत जेठ १५ गते कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो  । यस बजेटअन्तर्गत ११ खर्ब ८० अर्ब ९८ करोड चालु खर्च, चार खर्ब ८० अर्ब पुँजीगत खर्च र तीन खर्ब ७५ अर्ब वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ  । सरकारले घोषणा गरेका नयाँ करका दरहरूमध्ये केही जेठ १५ देखि नै लागू भइसकेका छन् भने बाँकी सबै आजदेखि कार्यान्वयनमा आएका छन्  ।

गत आर्थिक वर्षको बजेट खर्चको अवस्था

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार, समाप्त भएको आर्थिक वर्ष २०८१/८२ मा सरकारले लक्ष्यको ८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयनमा ल्याइए पनि असार मसान्तसम्म कुल १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन लक्ष्यको ८१ दशमलव ८७ प्रतिशत हो ।

पुँजीगत खर्चको अवस्था भने अझै पनि दयनीय देखिएको छ। तीन खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई खर्ब २२ अर्ब रुपैयाँ मात्र खर्च भएको छ, जुन लक्ष्यको ६३।२ प्रतिशत मात्र हो। यसैगरी, चालु खर्च ८५ दशमलव ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फको बजेट ८७ दशमलव १४ प्रतिशत खर्च हुन सकेको महालेखाको तथ्याङ्कले देखाएको छ।

सरकारको आम्दानी र खर्चबीच तीन खर्ब रुपैयाँभन्दा बढीको खाडल देखिएको छ, जसको पूर्तिका लागि आन्तरिक तथा बाह्य ऋणको सहारा लिनुपरेको छ। यो अवस्थाले नयाँ आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भन्ने चुनौती थपेको छ।


सम्बन्धित समाचार