Logo

२ साउन, काठमाडौं । आजबाट सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लागू भएको छ ।

सरकारको आर्थिक विधेयकमार्फत गरिएको यो व्यवस्थाले अब सुनचाँदी खरिदबिक्रीमा उपभोक्ताले थप मूल्य चुकाउनुपर्ने भएको छ । यो कर प्रत्येक पटकको कारोबारमा लागू हुनेछ। यसअनुसार, बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा, र ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत २ प्रतिशत विलासिता कर लाग्नेछ । पछिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा बढीको खरिदमा मात्रै लाग्ने गरेको यो कर अब भने जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि तिर्नुपर्नेछ ।

व्यवसायीको असन्तुष्टि र उपभोक्तामा पर्ने असर

सुनचाँदी व्यवसायीहरूले यो कर खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका थिए। सरकारसँग समस्या समाधान गर्नेु सहमति भएपछि आन्दोलन स्थगित भए पनि करको व्यवस्था भने फिर्ता गरिएको छैन । उदाहरणका लागि, हाल १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्यमा २ प्रतिशत विलासिता कर जोड्दा उपभोक्ताले थप करिब ३,८३६ रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसरी प्रत्येक कारोबारमा कर लाग्दै जाँदा अन्तिम उपभोक्तालाई सुनचाँदीको मूल्य अझ महँगो पर्ने देखिन्छ।

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

यसैबीच, आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो । यसैगरी चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।


सम्बन्धित समाचार