Logo

१ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि सरकारले सुनचाँदी लगायतका बहुमूल्य धातुको कारोबारमा कडाइ गरेको छ  ।

आन्तरिक राजस्व विभागले सुनचाँदी तथा बहुमूल्य धातुको कारोबार गर्ने व्यवसायीहरूलाई ग्राहकको ‘केवाईसी’ (नो योर कस्टमर) भर्नुपर्ने र अन्य कडा नियम पालना गर्नुपर्ने निर्देशन जारी गरेको छ।

के–के छन् नयाँ नियममा?

सुनचाँदी व्यवसायीले अब ग्राहक आउनेबित्तिकै उनीहरूको जोखिम मूल्यांकन गर्नुपर्नेछ र त्यसको अभिलेख राख्नुपर्नेछ। विभागले मागेको जुनसुकै बेला पनि यो अभिलेख उपलब्ध गराउनुपर्नेछ। यदि कुनै ग्राहक उच्च जोखिममा देखिएमा, उनीहरूबाट बृहत् ग्राहक पहिचान फाराम भर्न लगाउनुपर्नेछ।

शंकास्पद कारोबार नियन्त्रण गर्नका लागि व्यवसायीहरूले आन्तरिक नीति तथा कार्यविधि बनाउनुपर्नेछ। यसमा कर्मचारीको कार्य विभाजन, जोखिम व्यवस्थापनको आधार, ग्राहक विवरण अद्यावधिक गर्ने प्रणाली र विभागका निर्देशन कार्यान्वयन गर्ने व्यवस्था स्पष्ट हुनुपर्नेछ।

कुन–कुन अवस्थामा भर्नुपर्छ केवाईसी?

विभागको निर्देशनअनुसार कुनै पनि नयाँ व्यावसायिक सम्बन्ध स्थापना गर्दाकेवाईसी भर्नुपर्नेछ । एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्ने ग्राहकको, केवाईसी भर्नुपर्छ । यदि पहिले दिएको जानकारीमा शंका लागेमा तत्काल पुनः केवाईसी भर्न लगाउन सकिनेछ।

उच्च जोखिममा रहेका ग्राहकका हकमा प्रत्येक ६/६ महिनामा केवाईसी अपडेट गर्नुपर्नेछ। आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नदेखिने कारोबारमा विशेष ध्यान दिनुपर्नेछ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कालोसूची वा खैरोसूचीमा परेका मुलुकका नागरिकसँग कारोबार गर्दा थप सतर्कता अपनाउनुपर्नेछ। यी निर्देशनहरू पालना नगर्ने व्यवसायीलाई १ करोड रुपैयाँसम्मको जरिवाना वा संस्था खारेजीसम्मको कारबाही हुन सक्ने विभागले चेतावनी दिएको छ।

 


सम्बन्धित समाचार