१ साउन, वीरगञ्ज । सिरसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। सङ्घीय सरकारको निर्णयअनुसार अबदेखि सुक्खा बन्दरगाहसम्बन्धी सबै कामकाज वीरगञ्ज भन्सार कार्यालयबाट एकीकृत रूपमा सञ्चालन हुनेछ।
यससँगै, वीरगञ्ज भन्सार कार्यालयले रेलमार्ग, सडकमार्ग र अन्य मल्टिमोडल माध्यमबाट भित्रिने सम्पूर्ण सामानको आयात–निर्यात तथा भन्सार प्रक्रिया एउटै कार्यालयमार्फत सञ्चालन गर्न थालेको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार एकीकृत प्रणाली लागू भएपछि व्यापार प्रक्रिया सहज, पारदर्शी र कम खर्चिलो हुने विश्वास गरिएको छ।
एकीकृत भन्सारले व्यवसायीको समय र लागत दुवै बचत गर्छ, राजस्व संकलन पनि थप व्यवस्थित हुन्छ, प्रशासक लामिछानेले भने।
यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहतमा रहेको एकीकृत जाँच चौकी (ICD) बाट सडकमार्गका सामानको प्रक्रिया हुँदै आएको थियो भने रेलमार्गबाट आयात हुने कन्टेनर र सामानहरू सिरसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट छुट्टै प्रक्रिया भएर छुटाइन्थ्यो।
आजबाट यी दुई कार्यालय गाभिएसँगै एउटै भन्सार प्रशासनबाट दुवै माध्यमका आयात–निर्यात सामग्रीको प्रक्रिया अघि बढ्नेछ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो। यो राजस्व अब वीरगञ्ज भन्सार कार्यालयको समग्र लेखामा समावेश हुनेछ।
सुक्खा बन्दरगाह (Dry Port) सन् २००४ देखि सञ्चालनमा आएको हो। भारतको कोलकाता बन्दरगाहबाट मालसामान सिधा रेलमार्फत सिरसिया पुग्ने व्यवस्था यो बन्दरगाहमार्फत गरिएको हो। नेपालकै एक मात्र रेल–सडक संयोजनमा आधारित सुक्खा बन्दरगाहको व्यवस्थापन नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड (NITDB) मार्फत हुँदै आएको छ।
व्यवसायीहरूका अनुसार सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभिँदा दोहोरो प्रक्रिया हट्ने, समय कम लाग्ने, अतिरिक्त खर्च घट्ने र सरकारी निगरानी मजबुत हुने विश्वास गरिएको छ।
सरकारले भन्सार प्रणालीलाई आधुनिक, छरितो र पारदर्शी बनाउन ‘एकीकृत जाँच चौकी’ अवधारणालाई प्राथमिकतामा राखेको छ। वीरगञ्जमा गरिएको यो एकीकरणलाई व्यापार सुधारतर्फको सकारात्मक कदमका रूपमा लिइएको छ।















