Logo

१ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा व्याप्त निराशा र असल काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गर्ने घोषणा गरेका छन्।

बुधबार इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण विचारहरू राखेका हुन् । घिसिङका अनुसार, ‘उज्यालो नेपाल’ को अर्थ केवल बिजुलीको उज्यालो मात्र नभई, हरेक क्षेत्रमा रहेको अँध्यारो हटाएर समृद्धि, सुशासन र सामाजिक न्यायको उज्यालो छर्ने अभियान हो। यो अभियानले देशमा राम्रो काम गर्न चाहनेहरूका लागि बलियो शक्ति निर्माण गर्ने र असल नेतृत्व जन्माउन दबाब सिर्जना गर्ने उनको भनाइ छ।

उनले स्थापित राजनीतिक दलहरूले असल नेतृत्व दिन नसकेको खण्डमा यसै अभियानभित्रबाट नयाँ नेतृत्व जन्माउन सकिने संकेत पनि गरे।

राम्रो कामको ‘पुरस्कार’ बर्खास्तीः घिसिङको गुनासो

घिसिङले देशमा राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुको सट्टा अपमानित गर्ने र पदबाट हटाउने गलत प्रवृत्ति हाबी भएकोमा कडा आलोचना गरे। उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘लोडसेडिङ अन्त्य गर्ने, घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने र भारतमा बिजुली निर्यात गर्ने जस्ता कामको पुरस्कारस्वरूप मलाई बर्खास्त गरियो।’ उनले यस्तो प्रवृत्तिले देश बनाउन चाहने युवाहरूमा गम्भीर निराशा पैदा गर्ने बताए।

वर्तमान विद्युत संकट र अर्थतन्त्रको चिन्ता

पछिल्लो समय देशका विभिन्न भागमा अघोषित लोडसेडिङ बढेको प्रति गुनासो आएको उल्लेख गर्दै घिसिङले यसलाई दुःखद बताए। उनले ‘विद्युत प्राधिकरण संकटमा छ र घाटामा गयो भनेर गलत प्रचार गरिँदैछ’ भन्दै, यो देशको अर्थतन्त्र र जनताको आत्मविश्वास कमजोर बनाउने प्रयास भएको दाबी गरे । आफूले प्राधिकरण छोड्दा नाफामा रहेको संस्थाको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा हुनुपर्नेमा उनले जोड दिए ।

खाडीका युवाको प्रश्न र देशको नेतृत्वमाथि चुनौती

हालै खाडी मुलुकको भ्रमणबाट फर्केका घिसिङले त्यहाँ लाखौँ ऊर्जाशील नेपाली युवाहरूले पसिना बगाएर अरूको देश बनाइरहेको तर आफ्नो देशको भविष्यबारे चिन्तित रहेको बताए। उनले खाडीका युवाहरूले सोध्ने ‘हाम्रो देश किन बनेन? हामी फर्केपछि हाम्रो भविष्य के हुन्छ? भन्ने प्रश्नले देशको नेतृत्वलाई पोल्नुपर्ने बताए। उनले खाडी मुलुकको समृद्धि उनीहरूको प्राकृतिक स्रोत र असल नेतृत्वका कारण सम्भव भएको बताउँदै नेपालमा सम्भावना भएर पनि नेतृत्वकै कारण विकास हुन नसकेकोतर्फ औंल्याए।


सम्बन्धित समाचार