१ साउन, काठमाडौं । आज (साउन १ गते) देखि सुनचाँदीको खरिद बिक्रीमा विलासिता कर लागू भएको छ। सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था गरिएको यो कर प्रत्येक कारोबारको २ प्रतिशत बराबर लाग्नेछ। यो निर्णयले उपभोक्ता र व्यवसायी दुवैलाई प्रभावित पार्ने देखिएको छ।
के हो विलासिता कर र कसरी लाग्छ ?
सरकारले आर्थिक वर्ष २०८१र८२ देखि लागू हुनेगरी सुनचाँदीमा २ प्रतिशत विलासिता कर घोषणा गरेको हो। यो कर हरेक चरणको कारोबारमा लाग्नेछ। यसको अर्थ, बैंकले सुनचाँदी व्यवसायीलाई बिक्री गर्दा, व्यवसायीले ग्राहकलाई बिक्री गर्दा र ग्राहकले पुन व्यवसायीलाई बिक्री गर्दा समेत यो कर तिर्नुपर्नेछ।
यसअघि आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा धेरैको खरिदमा मात्र यस्तो कर लाग्ने व्यवस्था थियो। तर, अब भने जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्ने भएको छ, जसले सानातिना खरिदकर्तालाई समेत प्रभावित पार्नेछ।
व्यवसायीको अडान र आन्दोलन
सरकारले तोकेको यो विलासिता करको विरोधमा सुनचाँदी व्यवसायीहरूले निरन्तर आन्दोलन गर्दै आएका थिए। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशकलाई पत्र लेख्दै तत्कालका लागि विलासिता कर र भ्याट (मूल्य अभिवृद्धि कर) कार्यान्वयनमा सहयोग तथा समन्वय गर्न असमर्थ रहेको जनाएका छन्।
यसअघि समस्या समाधान गर्नेु सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता लिएको छैन। व्यवसायीहरू कर नतिर्ने अडानमा रहेकाले यो विषयले थप जटिलता लिने देखिन्छ।
विलासिता कर लागू भएपछि सुनचाँदीको भाउ थप महँगिने भएको छ। उदाहरणका लागि, हाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ प्रति तोलामा छ। यसमा २ प्रतिशत विलासिता कर जोड्दा ग्राहकले करिब ३ हजार ८३६ रुपैयाँ थप तिर्नुपर्नेछ। प्रत्येक कारोबारमा यस्तो कर लाग्दै जाँदा यसको भार उपभोक्तामाथि पर्ने निश्चित छ।
यो निर्णयले एकातिर सरकारलाई राजस्व संकलनमा सहयोग गर्नेछ भने अर्कोतिर सुनचाँदीको कारोबार र उपभोक्ताको खरिद क्षमतामा कस्तो असर पर्छ भन्ने हेर्न बाँकी छ। व्यवसायीको असहयोगका कारण यसको कार्यान्वयनमा चुनौती आउने निश्चित देखिन्छ।















