Logo

१ साउन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै पार्टीभित्र हलचल मच्चिएको छ।

उनले चलाखीपूर्ण तरिकाले सदस्यता नवीकरण गरी आफ्नो ‘स्पेस’ विस्तार गर्ने योजनाबद्ध प्रयासमा लागेको देखिन्छ । एमालेले वैशाख २०८१ मा भण्डारीलाई ‘गणतन्त्र गौरवुबाट सम्मान गर्ने निर्णय गर्दा उनलाई ‘पूर्वराष्ट्रपति’ कै हैसियतमा सीमित राख्न चाहेको बुझिएको थियो । तर, भण्डारीले त्यसलाई सक्रिय राजनीतिमा आउन नदिने षड्यन्त्रका रूपमा बुझेर गोप्य रूपमा आफ्नो पार्टी सदस्यता नवीकरण गराइन् । करिब एक वर्ष यो विषय गुपचुप रहे पनि मदन भण्डारीको ७४औँ जन्मदिवस पारेर असार १४ गते सार्वजनिक रूपमा सदस्यता नवीकरणको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन्। ११ कार्तिक २०७२ मा राष्ट्रपति भएपछि उनी पार्टी राजनीतिबाट अलग भएकी थिइन् र उनको सदस्यता नवीकरण भएको थिएन। स्रोतका अनुसार, अध्यक्ष ओलीले समेत सदस्यता नवीकरण भइसकेपछि मात्र यस विषयमा जानकारी पाएका थिए ।

देश दौडाहा र कार्यकर्तासँग भेटघाट

राष्ट्रपतिको जिम्मेवारीबाट हटेपछि भण्डारीले विभिन्न जिल्लाको भ्रमण गरेकी छन्। पुस २०८१ मा गण्डकी र जेठ २०८२ मा कोसी प्रदेशको भ्रमण उल्लेखनीय थियो । पोखरामा रहँदा उनले आफू अध्यक्ष ओली जस्तो दिनरात खट्न नसक्ने बताएर संस्थापन पक्षको मन जित्ने प्रयास गरे पनि जेठको मोरङ–झापा भ्रमण भने विशेष रह्यो । मोरङ जिल्ला र महानगर कमिटीमा ओली पक्षलाई हराएका विनोद ढकालको क्षेत्रमा उनको भ्रमणले एमालेभित्र तरंग सिर्जना गर्‍यो । ढकाल भण्डारीनिकट मानिन्छन् । विराटनगर पुगेर उनले ‘एमालेका नेता(कार्यकर्तासँग भेट्न कसैको अनुमति लिनु नपर्ने र ‘यसपटकको विराटनगर आगमन थप चर्चित हुने’ दाबी गर्दै पार्टी राजनीतिमा फर्कन आफूलाई कसैले रोक्न नसक्ने चेतावनी दिएकी थिइन् ।

मदन भण्डारी फाउन्डेसनमार्फत संगठन विस्तार

केपी ओलीले आफू कमजोर हुँदा संगठन विस्तारको माध्यम बनाएको मदन भण्डारी फाउन्डेसनलाई भण्डारीले पनि प्रयोग गर्दैछिन्। पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, जो ओलीलाई संकटमा साथ दिने र अहिले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उत्प्रेरित गर्नेमध्ये पर्छन्, उनले गत वर्ष काभ्रेमा भण्डारीको प्रमुख आतिथ्यमा मदन भण्डारीको ७३ औँ जन्मदिवस मनाएका थिए।

असार १४ गते राष्ट्रिय सभागृहमा आयोजित ७४औँ जन्मदिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई समेत सहभागी गराउनु र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत् ओलीका मनमौजी गतिविधिको आलोचना गराउन सक्नु भण्डारीको राजनीतिक सफलता मानिएको छ। फाउन्डेसनले मदन भण्डारीको ७५औँ (हीरक) जन्मदिवस मनाउन ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाएको छ, जसको संयोजक बागमतीका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल छन् । यो समितिमा अधिकांश भण्डारी पक्षधर र ओलीको नेतृत्वको निरन्तरताको विपक्षमा रहेका व्यक्तिहरू रहेको स्रोत बताउँछ। यो समितिले जिल्लास्तरसम्म संगठन विस्तार गर्ने योजना बनाएको छ।

विचारमा पनि हस्तक्षेपको संकेत

असार ३१ मा पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत ुवेबसाइटु सार्वजनिक भयो। यस वेबसाइटमार्फत उनले आफ्नो सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको भूमिका, र विचारहरूलाई एकै स्थानमा समेटेकी छिन्। यो वेबसाइटले एमालेमा विचारको नेतृत्वकर्ता ओली मात्र नभई भण्डारी पनि वैचारिक रूपमा कमजोर छैनन् भन्ने सन्देश दिन खोजेको देखिन्छ। वेबसाइटको सुरुवातमै राखिएको उनको भनाइ ुमूल्य, विचार र उद्देश्यबिनाको राजनीति केवल सत्ताको लोभ होु ले उनी उद्देश्य र मूल्यसहितको राजनीति अगाडि बढाउन चाहन्छिन् भन्ने स्पष्ट पार्न खोजेको छ।

 

 


सम्बन्धित समाचार