२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी छैटौँ संशोधन) नियमावली, २०८२ लागू गर्दै स्टक डिलर कम्पनीहरूलाई आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) जारी गर्न पाउने व्यवस्था गरेको छ।
हाल बजारमा नागरिक लगानी कोषको नागरिक स्टक डिलर र नबिल इन्भेष्टमेन्टको नबिल स्टक डिलर गरी दुई वटा स्टक डिलर कम्पनी सञ्चालनमा छन्। यी कम्पनीहरूको स्थापना दोस्रो बजारको अस्वाभाविक उतारचढाव रोक्ने उद्देश्यले गरिएको थियो, र अब उनीहरू आफैँले आईपीओ निष्कासन गर्न पाउनेछन्।
संशोधित नियमावलीले शेयर ब्रोकर कम्पनीहरूलाई पुँजी पुर्याउने समय पनि थप गरेको छ। यसअघि असार मसान्तसम्म पुँजी पुर्याउनुपर्ने व्यवस्था रहेकोमा अब चैत मसान्तसम्म यो म्याद थप गरिएको छ।















