Logo

१ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कार्यसम्पादनमा उल्लेख्य प्रगति हासिल गरेको छ।

विभागले स्थापनाकालदेखि हालसम्म दायर गरेका कुल मुद्दाको बिगोभन्दा पाँच गुणा बढी रकमको मुद्दा यही आर्थिक वर्षमा मात्र दायर गरेको छ। विभागले सार्वजनिक गरेको प्रगति विवरणअनुसार, २०६६–६७ देखि २०८०–८१ सम्मको १५ वर्षको अवधिमा कुल १०१ वटा मुद्दामा करिब १४ अर्ब रुपैयाँ बिगो माग दाबी गरिएको थियो। तर, चालु आर्थिक वर्षमा मात्रै विभागले २० वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दायर गरेको छ, जसमा ८० जना व्यक्ति र २१ वटा संस्थाविरुद्ध ७८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ। यो अघिल्ला १५ वर्षको कुल बिगोभन्दा ५ गुणा बढी हो।

उजुरी फर्स्योटमा पनि अग्रता

उजुरी फर्स्योटमा पनि विभागले कीर्तिमानी कायम गरेको छ। विगतका वर्षमा वार्षिक अधिकतम ५६० वटा उजुरी फर्स्योट हुने गरेकोमा यस आर्थिक वर्षमा हालसम्म ८८० वटा उजुरी फर्स्योट भइसकेको छ। यो सुरुमा बाँकी रहेका उजुरीको करिब ५० प्रतिशत हो। विभागमा स्थापनाकालदेखि हालसम्म ४ हजार ३ उजुरी प्राप्त भएकोमा २ हजार १५० उजुरी फर्स्योट भएको तथ्यांक छ।

अनुसन्धानका प्राथमिकता र खर्च विवरण

विभागले यस अवधिमा ४८ अर्ब, ६ अर्ब, ४ अर्ब जस्ता ठूला बिगो भएका जटिल प्रकृतिका कसुरहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ। बहुमूल्य धातुको अवैध कारोबार, तस्करी, संगठित अपराध र अन्तरदेशीय अपराधसँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकतामा राखी अनुसन्धानलाई तीव्रता दिइएको विभागले जनाएको छ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये चालुतर्फ ८६ दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ८१.९९ प्रतिशत बजेट खर्च भएको विभागले बताएको छ। यसका साथै, विशेष अदालतबाट फैसला भई जफत भएको १ करोड २७ लाखभन्दा बढी रकम सरकारी कोषमा दाखिला गरिएको छ।


सम्बन्धित समाचार