१ साउन, काठमाडौं । नेपाल र चीन सरकारबीच रसुवागढीस्थित मितेरी पुलमा दसैँअघि नै बेलिब्रिज जडान गर्ने सहमति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बिहीबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँगको छलफलपछि यो सहमति भएको जानकारी दिएका हुन् । मितेरी पुल बगाएको बाढीका कारण विगत ९ दिनदेखि ठप्प रहेको स्याफ्रुबेँसी(रसुवागढी सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागका अनुसार, यो सडक भोलि (शुक्रबार) भित्र खुलाउने गरी तीव्र गतिमा काम भइरहेको छ ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख तथा सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले लिङलिङको एउटा ५० मिटरको ‘क्रिटिकल’ खण्डबाहेक अन्य सबै ठाउँमा ‘वान वे ट्र्याक’ खुलिसकेको बताए ।
बाढीले स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १६ किलोमिटर सडकखण्डमध्ये रसुवागढी, टिमुरे, लिङलिङ र रोंगा क्षेत्रमा करिब १.१ किलोमिटर सडकमा क्षति पुर्याएको थियो, जुन सबै मर्मत भइसकेको जनाइएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाका सब–इन्जिनियर रूपनारायण पौडेलले योजना प्रमुखसहितको सात जनाको टोली र तीन वटा एक्स्काभेटर प्रयोग गरी बाटो खुलाउने काम भइरहेको जानकारी दिए ।
पुल पुनर्निर्माणमा चिनियाँ सहयोगको अपेक्षा
मितेरी खोलाको पुल पुनर्निर्माणका विषयमा दुई देशबीच समन्वय भइरहेको छ । नेपालतर्फबाट तत्काल सामग्री लैजान सम्भव नभएकाले चीनतर्फबाटै सामग्री ल्याएर चीन सरकारले नै पुल निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सडक खुला भएपछि मात्र उक्त सडकमा कस्ता सवारी साधन चलाउन सकिनेछ भन्नेबारे थप जानकारी प्राप्त हुनेछ । असार २४ गते आएको बाढीले करिब १ किलोमिटर सडक बगाउँदा टिमुरे र रसुवागढीबीचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । यो सहमति र सडक खुल्ने तयारीले चीनसँगको व्यापारिक नाका चाँडै पुनः सञ्चालनमा आउने आशा जगाएको छ।















