१ साउन,सिम्रौनगढ। सिम्रौनगढका व्यापारी तथा कृषकहरूले प्रहरीको ज्यादती, खाद्य सामग्रीको अभाव र छोटी भन्सार सञ्चालन नहुनुजस्ता समस्याविरुद्ध आजदेखि बजार बन्द गरी आन्दोलन सुरु गरेका छन्।
व्यापारी तथा कृषकहरूले सिम्रौनगढ बजारका विभिन्न स्थानहरूमा टायर बाल्दै, नारा जुलुस निकाल्दै पसलहरू पूर्ण रूपमा बन्द गराएका छन्। उनीहरूले “प्रहरी ज्यादती मुर्दावाद”, “छोटी भन्सार सञ्चालन गर”, “मल, खाद, बीउ उपलब्ध गर” जस्ता नाराहरू लगाउँदै विरोध जनाए।
सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले आन्दोलनमा जानुको कारण स्पष्ट गर्दै भने, “मधेसमा अहिले अत्यधिक गर्मी र खडेरीको समस्या छ। यस्तै अवस्थामा पनि यहाँको ७० प्रतिशत खेतमा खेती हुन सकेको छैन। जो थोपा खेती गरेका छन्, ती पनि मल, बीउ, औषधिको अभावमा पीडित छन्।”
उनले थपे, “छोटी भन्सारको स्तरोन्नति र सञ्चालन नभएकाले व्यापारीहरूलाई बीरगन्ज वा गौर भन्सार धाउनुपर्ने बाध्यता छ। यसले ढुवानी खर्च बढाएको छ र उपभोक्तालाई महँगोमा सामान किन्नुपर्ने अवस्था आएको छ। यसैले सिम्रौनगढ बजार मन्दीमा परेको छ।”
व्यापारीहरूले प्रहरीद्वारा दैनिक जाँचको नाममा बेवजह हैरानी भोग्नुपरेको पनि आरोप लगाएका छन्। “केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका सुरक्षाकर्मीहरूले निरन्तर ट्रक, मोटरसाइकल र सामान्य ढुवानीका सवारीसाधनलाई रोकेर दुःख दिएका छन्,” एक स्थानीय व्यापारीले बताए।
कुशवाहाले चेतावनी दिँदै भने, “यदि हाम्रा मागहरू– सिम्रौनगढ छोटी भन्सार तत्काल सञ्चालन गर, कृषकलाई सहज रूपमा मल, खाद र बीउ उपलब्ध गर, प्रहरी ज्यादती तुरुन्त बन्द गर– पूरा गरिएन भने भोलीदेखि चक्का जामसहितको कडा आन्दोलन गर्नेछौं।”
यस आन्दोलनले सिम्रौनगढ बजारमा पूर्ण ठप्प असर पारेको छ भने जनजीवन पनि प्रभावित भएको छ। आन्दोलनकारीले माग पूरा नभएसम्म चरणबद्ध रूपमा आन्दोलनलाई थप सशक्त बनाउने जनाएका छन्।















