१ साउन,वीरगञ्ज । बीरगञ्जवासीको वर्षौंदेखिको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो समझदारी आज (साउन १) बाट औपचारिक रूपमा लागू गरिएको हो।
उक्त सम्झौतामा वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले हस्ताक्षर गरेका छन्।
खानेपानी पहुँचमा गुणात्मक परिवर्तनको आशा
महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा र खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा गरिएको यो समझदारीले स्वच्छ, सुरक्षित र नियमित खानेपानी सेवा महानगरको प्रत्येक घरधुरीसम्म पु¥याउने लक्ष्य लिएको छ।
“हामी प्रत्येक परिवारमा स्वच्छ पानी पु¥याउने संकल्पसहित अघि बढेका छौँ,” मेयर सिंहले भने, “अबको बीरगञ्जमा पानी अभावको गुनासो सुन्नु पर्ने दिन सकिनेछ।”
सेवा विस्तारदेखि पाइपलाइन मर्मतसम्मको व्यवस्था
समझदारी अनुसार, नेपाल खानेपानी संस्थानले सेवा विस्तार, पाइपलाइन मर्मत, नयाँ धारा जडान, जनचेतना अभियानदेखि गुनासो समाधानसम्मको जिम्मेवारी लिनेछ।
बीरगञ्ज महानगरपालिकाले भने आर्थिक व्यवस्थापन, महसुल प्रक्रिया र कानुनी समन्वयमा साथ दिनेछ। खानेपानी सेवा विस्तारसँगै गरिब तथा पिछडिएको वर्गले समेत सहज रूपमा सेवा पाउने वातावरण बनाइने बताइएको छ।
तीन वर्षे कार्यान्वयन, आवश्यकता अनुसार नवीकरण
यो समझदारी सन् २०८२ साउन १ देखि २०८४ पुस मसान्तसम्म लागू हुनेछ, जसलाई आवश्यकता अनुसार नवीकरण गर्न सकिनेछ। कार्यान्वयनका क्रममा उत्पन्न हुने विवादहरू आपसी छलफलबाट समाधान गरिने प्रावधान पनि राखिएको छ।
स्वास्थ्यमा सुधार, दिगो विकासमा सहयोग
खानेपानीको पहुँचले जनस्वास्थ्यमा सकारात्मक असर पार्ने र पानीजन्य रोगको जोखिम कम हुने अपेक्षा गरिएको छ। उपमेयर इम्तियाज आलमले भने, “यो सम्झदारीले बीरगञ्जको समग्र विकासमा महत्वपूर्ण टेवा पु¥याउनेछ।”
खानेपानी मन्त्रालयको सहजीकरण भूमिका
कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले बीरगञ्जका नागरिकहरूलाई खानेपानी अधिकार सुनिश्चित गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने बताए। “हामी दीर्घकालीन समाधानतर्फ गइरहेका छौं,” मन्त्री यादवले भने, “आजको सम्झदारी एउटा महत्वपूर्ण मोड हो।”
कार्यक्रममा विभागीय महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थान बीरगञ्ज शाखा प्रमुख प्रविण साह, विभिन्न अधिकारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो।
यो समझदारीपछि बीरगञ्जमा खानेपानीको सेवा सहज, छरितो र पारदर्शी हुने विश्वास गरिँदैछ। जनस्वास्थ्यको संरक्षण र सेवा विस्तारमा यो ऐतिहासिक सम्झौताले नयाँ दिशाको थालनी गर्ने अपेक्षा गरिएको छ।

















