Logo

१ साउन,सेढवा । पर्साको ग्रामीण भेगमा लागू औषध दुव्र्यसन र सामाजिक विकृतिहरू दिनप्रतिदिन भयावह बन्दै गइरहेका छन्। युवापुस्ताको उल्लेख्य संख्याले जाडरक्सी, बिडी, चुरोट, सुर्ती र गुटखा जस्ता नशालु पदार्थको प्रयोगलाई दैनिक जीवनको हिस्सा बनाएका छन्। अझ चिन्ताजनक पक्ष त के छ भने अब गाँजा, चरेस, नशाको ट्याब्लेट, नाइट्रोभेट इन्जेक्शनजस्ता घातक लागू औषधहरूको प्रयोग समेत व्यापक हुँदै गएको छ।

प्रहरी तथा स्थानीय बासिन्दाहरूका अनुसार, लागू औषधको प्रयोगले धेरै युवाहरू चेतनाशून्य बन्ने, मानसिक सन्तुलन गुमाउने तथा हिंसात्मक र आपराधिक गतिविधिमा लिप्त हुने गरेका छन्। चोरी, झै–झगडा, घरेलु हिंसा र सवारी दुर्घटनाका घटनामा उल्लेख्य वृद्धि भएको देखिएको छ। अझ दुःखद कुरा त के छ भने माध्यमिक तहका विद्यालयका विद्यार्थीसमेत यस दुव्र्यसनमा फसेका छन्।

सीमापारिबाट लागू औषधको ओसारपसार तीव्र

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, भारतबाट सीमापारि हुँदै नशालु ट्याब्लेट र इन्जेक्शन भित्र्याउने क्रम तीव्र छ। प्रहरीले पटक–पटक नियन्त्रणमा लिने प्रयास गरे पनि, सीमावर्ती खुला सिमाना र स्थानीय समुदायको मौनताका कारण यस्ता गतिविधिमा नियन्त्रण गर्न गाह्रो भइरहेको छ।

थापाका अनुसार लागू औषधको कारोबारमा संलग्न अधिकांश युवा १५ देखि २५ वर्ष उमेर समूहका छन्। “समुदायले प्रहरीलाई समयमै सूचना नदिएसम्म निगरानी प्रभावकारी बन्न सक्दैन,“ थापाले स्पष्ट पारे। उनले भने, “युवाहरू लागू औषधको दलदलमा फँस्न थालेपछि उनीहरूको भविष्य अन्धकारमय हुन थालेको छ। त्यसैले अब सुरक्षा निकाय, जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी सबैले मिलेर साझा प्रयास गर्नु अपरिहार्य छ।“

गाउँमा पसे विकृति, स्थानीय सरकार मौन

ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरका रामबहादुर पाख्रिनका अनुसार, शहरमा सीमित विकृतिहरू अहिले गाउँसम्म फैलिइसकेका छन्। “गाउँमा पनि अहिले नशाको प्रयोग उस्तै छ। तर, त्यसको न्यूनीकरण गर्न स्थानीय सरकारले कुनै कार्यक्रम ल्याएको देखिँदैन,“ उनले गुनासो गरे।

उनले थपे, “प्रत्येक आर्थिक वर्षमा लागू औषध नियन्त्रण तथा सचेतनामूलक कार्यक्रमका लागि लाखौं बजेट छुट्याइन्छ, तर ती कागजमा मात्र सीमित हुन्छन्।“

स्रोतका अनुसार, जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा कार्यक्रम आफ्ना नजिकका संस्थालाई दिने गरिन्छ। ती संस्थाले व्यवहारिक रूपमा कुनै उल्लेख्य काम नगरे पनि रकम खर्च भएको देखाएर प्रतिवेदन बुझाउने प्रचलन छ। यसको प्रत्यक्ष असर भने गाउँका युवामा पर्न थालेको छ।

दुव्र्यसनको जड घर–परिवारमै

पर्साका सामाजिक अभियन्ता प्रकाश थारुले लागू औषध दुव्र्यसनको सुरुवात परिवारबाट नै हुने बताएका छन्। “अभिभावकहरूले बाल्यकालमै छोराछोरीलाई चुरोट, सुर्ती किन्न पठाउने र आफ्नै सामुने सेवन गर्ने गरेका छन्। यसैबाट उनीहरूमा नशाप्रतिको आकर्षण सुरु हुन्छ,“ थारु भन्छन्।

उनको भनाइमा, “दुई दशकअघिसम्म ‘दुव्र्यसन’ भन्ने शब्द गाउँमा नै थिएन। तर अहिले लागू औषध र विकृति यति भयावह बनेको छ कि यदि अहिले नै कदम चालिएन भने एक पुस्ता नै बर्बाद हुनेछ।“


सम्बन्धित समाचार