Logo

१ साउन,काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारप्रति राज्यका सम्बन्धित निकायहरूलाई पुनः स्पष्ट हुन आग्रह गरेको छ। पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रता सम्बन्धी विषयहरूमा निर्णय गर्दा काउन्सिलको क्षेत्राधिकारलाई सम्मान गर्न समेत निर्देशन दिएको छ।

बिहीबार जारी विज्ञप्तिमा प्रेस काउन्सिलले भन्यो, “हामीले आफ्नो जिम्मेवारी र दायित्व निरन्तर निभाउँदै आएका छौं। पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रता जस्ता संवेदनशील विषयमा निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति कुनै भ्रम नपरोस् भन्ने हेतुले सम्बन्धित निकायलाई अनुरोध गर्दछौं।”

प्रेस काउन्सिलको बैठक सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकपछि वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता खनाल दीपक खनालले प्रेस काउन्सिल ऐन, २०४८ को प्रस्तावना, दफा ५ को उद्देश्य र दफा ७ मा तोकिएका कर्तव्य तथा अधिकारअनुसार काउन्सिलले निरन्तर क्रियाशील रहेको जानकारी गराए।

प्रेस काउन्सिल ऐन अनुसार, काउन्सिलको मुख्य उद्देश्य स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नु, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकार आचारसंहिता तोक्नु, सरकार र प्रेसबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्नु, तथा सावर्जनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्नु हो।

त्यसैगरी, प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामा अवाञ्छित हस्तक्षेप हुन नदिन काउन्सिल सक्रिय रहेको स्मरण गराइएको छ।

यसअघि कतिपय सरकारी निकायहरूले प्रेससम्बन्धी विषयमा स्वतन्त्र निर्णय लिँदा प्रेस काउन्सिलको क्षेत्राधिकारलाई चुनौती दिएको भन्दै काउन्सिलले यस्तो स्पष्टिकरण गरेको बुझिएको छ।


सम्बन्धित समाचार