२ साउन, रौतहट । रौतहट जिल्लाको पूर्वी भेगस्थित राजदेवी नगरपालिका–१ लक्ष्मीपुर टोलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र लागू औषध नियन्त्रण ब्युरो शाखाको संयुक्त टोलीले बुधबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–८ निवासी २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादव रहेका छन्। उनीहरूलाई बीआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा लागूपदार्थसहित नियन्त्रणमा लिइएको हो ।
रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार, उनीहरूको साथबाट विभिन्न ब्रान्डका ठूलो मात्रामा नशालु औषधि बरामद गरिएको छ । बरामद गरिएको वस्तुहरूमा नाइट्राजेपाम १० एमजीका १८ सय ट्याब्लेट, ९ सय थान अन्य ट्याब्लेट, सानो पत्तामा ३ सय ट्याब्लेट, डाइजिपाम इन्जेक्सन ३ सय एम्पुल, फेनेरगन ३ सय एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार, पक्राउ परेका दुवै जनाले ती लागूपदार्थहरू बिक्री गर्ने उद्देश्यले ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।















