Logo

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालमा बढ्दै गएको भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक टोली आज टंगालस्थित अख्तियार कार्यालय पुगी सबै भ्रष्टाचारका घटनाहरूको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राप्रपाले बुझाएको पत्रमा नेपालमा भ्रष्टाचार ‘महामारीको रूपमा फैलँदै गएको’ भन्दै अख्तियारकै वार्षिक प्रतिवेदनले पनि उजुरी, मुद्दाको संख्या र दाबी रकम बढ्दै गएको पुष्टि गरेको उल्लेख छ । लिङ्देनले सरकारका मन्त्रीहरू भ्रष्टाचारमा संलग्न भएको तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्।’ अझ गम्भीर आरोप लगाउँदै राप्रपाले ‘प्रमुख आयुक्त स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रस्ट हुन्छ’ भनेर प्रश्न उठाएको छ ।

ठूला भ्रष्टाचारका फाइलमा ‘राजनीतिक संरक्षण’ को आशंका

ज्ञापनपत्रमा अख्तियारले सानातिना भ्रष्टाचारका मुद्दाहरूमा छानबिन र कारबाही गरे पनि सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेल लगायतका ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर रहनुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्न उठेको जनाइएको छ ।

राप्रपाको ठहर छ कि राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस्ता ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुन सम्भव छैनन् । पार्टीले भ्रष्टाचारको मुख्य जरो राजनीतिक क्षेत्रलाई कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन नसक्नेमा जोड दिएको छ। यो कदमले अख्तियारमाथि ठूला भ्रष्टाचारका मुद्दाहरूमाथि छानबिन गर्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार