२ साउन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरुलाई लक्षित गर्दै स्कुल ब्याग वितरण कार्यक्रम सुरु गरेको छ।
शुक्रबार, वडा नं. ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, महुवन मा आयोजित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत २ सय जना छात्राहरुलाई स्कुल ब्याग वितरण गरिएको हो। विद्यालयका प्रधानाध्यापक रामजी रौनियारका अनुसार ब्याग वितरण गाउँपालिका अध्यक्ष यशवन्त यादव स्वयंले गरेका थिए।
अध्यक्ष यादवले शिक्षामा बालिका तथा किशोरीहरूलाई आकर्षित गर्न, विद्यालयमा नियमित उपस्थिति बढाउन तथा प्रोत्साहन दिन यस्तो कार्यक्रम ल्याइएको जानकारी दिए।
उनले भने, “गाउँपालिकाको आफ्नै बजेटबाट यो कार्यक्रम सञ्चालन गरिएको हो, जसको लक्ष्य हो— शिक्षामा लैंगिक समानता र सहभागिता बढाउनु।“
गाउँपालिकाभित्रका अन्य चार सामुदायिक विद्यालयहरू — सिरही सथवल, पञ्चगावा, देउरवाना र कटैया मा अध्ययनरत कक्षा ९ र १० का छात्राहरुलाई पनि निकट भविष्यमै स्कुल ब्याग वितरण गरिने अध्यक्ष यादवले जानकारी दिए।
स्थानीयबासी र विद्यालय प्रशासनले यो कार्यक्रमको स्वागत गर्दै यसले विद्यार्थीमा पढाइप्रति रुचि र आत्मबल बढाउने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाको यो प्रयास ग्रामीण भेगका किशोरी शिक्षार्थीका लागि प्रेरणादायी कदमका रूपमा हेरिएको छ।















