Logo

२ साउन,काठमाडौं । सन् २०२५ को जनवरीदेखि यता इरानबाट १४ लाखभन्दा बढी अफगानी नागरिकहरूलाई जबरजस्ती निष्कासन गरिएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीका अनुसार, इरान–अफगानिस्तान सीमामा हरेक दिन करिब २० हजार अफगानी शरणार्थीहरूलाई बलपूर्वक फिर्ता पठाइँदैछ।

इजरायलसँगको युद्धपछि निष्कासनमा तीव्रता
गत महिना इरान र इजरायलबीच भएको १२ दिने युद्धपछि अफगानीहरूको निष्कासन अझ तीव्र बनेको छ। इरानले २४ जुनदेखि ९ जुलाईको बीचमा अर्थात् केवल १६ दिनमा ५ लाखभन्दा बढी अफगानी नागरिकलाई देशबाट निष्कासन गरेको छ।

इरानले मार्च २०२५ मा अवैध अफगानी आप्रवासीहरूले जुलाई ६ सम्ममा देश छोड्नुपर्ने, अन्यथा उनीहरूलाई जबरजस्ती निष्कासन गरिने घोषणा गरेको थियो। इरानी अधिकारीहरूले अफगानहरू इजरायल र अमेरिकासँगको जासुसी, आतंकवादी हमला र ड्रोन निर्माणमा संलग्न रहेको दाबी गर्दै आएका छन्।

अमानवीय व्यवहार र लुटपाटको आरोप
निष्कासित भएका धेरै अफगानीहरूले मिडियासँग कुरा गर्दै आफूहरूलाई कुटपिट गरिएको र पैसा खोसिएको बताएका छन्। साथै, धेरै नाबालिग बालबालिकाहरूलाई कुनै पनि अभिभावकबिना अफगानिस्तान पठाइएको घटना पनि प्रकाशमा आएको छ।

न्यूयोर्क टाइम्ससँग कुरा गर्दै पीडितहरूले आफूसँग पर्याप्त सामान र भविष्यको कुनै आशा नभएको बताएका छन्। ४२ वर्षदेखि इरानमा मजदुरको रूपमा काम गर्दै आएका मोहम्मद अखुन्दजादाले भने, “मैले इरानमा ४२ वर्ष कडा परिश्रम गरें, मेरो घुँडा भाँचियो र अब मैले के पाएँ?“

इरानबाट निर्वासित अर्का शरणार्थी बशीरले मिडियालाई बताएअनुसार अधिकारीहरूले उनीसँग १७ हजार रुपैयाँ मागेका थिए। त्यसपछि उनलाई दुई दिनसम्म हिरासत केन्द्रमा राखिएको थियो, जहाँ उनलाई खाना र पानी दिइएन र दुव्र्यवहार गरियो।

अर्का एक युवाका अनुसार उनका बुबालाई जासुसीको आरोपमा पक्राउ गरी जेल हालिएको थियो। उनलाई खाना र पानी नदिई हिरासतमा राखेर अफगानिस्तान पठाइएको थियो।

द गार्डियनसँग कुरा गर्दै एक अफगानी महिलाले इरानी अधिकारीहरूले राति आएर बच्चाहरूको लुगा पनि लिन नदिई फोहोरजस्तै फालेको र बाटोमा बैंक कार्डबाट पैसा निकालेको बताएकी छन्। उनले पानीको बोतलको लागि ८० रुपैयाँ र स्यान्डविचको लागि १७० रुपैयाँ तिर्नुपरेको समेत उल्लेख गरेकी छन्।


सम्बन्धित समाचार
भर्खरै