३ साउन, काठमाडौँ । सौर्य एयरलाइन्सको सीआरजे–२०० (कलसाइन ९एन–एएमई) विमान पोखरामा भएको दुर्घटनाको कारण पाइलटको गल्ती र एयरलाइन्स कम्पनीको गम्भीर लापरबाही रहेको निष्कर्ष सरकारी जाँच आयोगले निकालेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको अन्तिम प्रतिवेदनमा विमानको प्राविधिक अवस्था सामान्य भए पनि उडान प्रक्रियामा मानव त्रुटि, लापरबाहीपूर्ण योजना र नियमनको अभाव प्रमुख कारण रहेको उल्लेख छ। मन्त्री बद्रीप्रसाद पाण्डेलाई शुक्रबार प्रतिवेदन बुझाएसँगै मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।
२०७९ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सो जहाज टेकअफको क्रममा अत्यधिक पिच रेटका कारण “डीप स्टल” मा पुगेको र त्यसकै कारण दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । पाइलट मनीष शाक्यले जहाजको अगाडिको भाग अत्यधिक माथि उठाएका कारण हावाको प्रवाह अवरुद्ध भई जहाजले आवश्यक गति हासिल गर्न नसकेर जमिनमा खसेको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने पाइलटमात्र बाँच्न सफल भएका थिए ।
प्रतिवेदनमा जहाजको स्पीडकार्ड नै गलत भएको र त्यसले टेकअफका लागि आवश्यक गति गणनामा त्रुटि भएको उल्लेख छ। १८ हजार ५ सय किलोग्राम तौलको जहाजका लागि आवश्यक “भी-स्पीड” गणना गलत थियो। झन त, सो स्पीडकार्ड स्वीकृत नै नभएको र कसैले परीक्षण पनि नगरेको पाइएको छ ।
उक्त उडान ‘फेरी फ्लाइट’ — मर्मतका लागि जहाज सार्ने उद्देश्यले गरिएको थियो। तर यस्तो उडानका लागि आवश्यक योजना, म्यानुअलको पालना र सुरक्षा अभ्यास नहुँदा दुर्घटना भएको देखिन्छ । जहाज ग्राउन्डेड भएको ३४ दिनपछि उडाइएको थियो, र उडेको केही सेकेन्डमै दाहिने पखेटा जमिनमा ठोक्किएको थियो। प्रारम्भिक रोटेसनपछि जहाजले ५० फिटसम्म उचाइ लिएको भए पनि स्थिर उडान सम्भव नभई दुर्घटनामा परेको हो ।
कार्गो र मर्मत सामग्रीको तौल, वितरण र व्यवस्थापनमा पनि लापरबाही भेटिएको छ। कतिपय उपकरण त तौल नगरी, न त सुरक्षा जाली वा टाई–डाउन प्रणाली प्रयोग गरी लोड गरिएको थियो। झन खतरनाक र ज्वलनशील पदार्थ पनि जहाजमा रहेको फेला परेको छ । गैर–आवश्यक चालक दल र गैर–कर्मचारी समेत जहाजमा उपस्थित थिए ।
सौर्य एयरलाइन्सले ऐतिहासिक रूपमा नै गलत स्पीडकार्ड प्रयोग गर्दै आएको र चालक दलले त्यस्तो त्रुटि कहिल्यै रिपोर्ट नगरेको प्रतिवेदनले देखाएको छ । ८.६ डिग्री प्रति सेकेन्डसम्मको अत्यधिक पिच दर, लापरवाहीपूर्ण सुपरिवेक्षण, र प्रावधानको उल्लङ्घनले दुर्घटनाको जोखिमलाई बढाएको हो ।
दुर्घटनास्थल नजिकै रहेका निर्माण सामग्रीहरू सुरक्षित गर्न विमानस्थलले उचित व्यवस्था नगरेको, आकस्मिक सेवा गेटसम्म सहज पहुँच नहुँदा उद्धारमा ढिलाइ भएको उल्लेख छ । झन दुर्घटनापछि सौर्य एयरलाइन्सको कार्यालयमा सामग्री स्थानान्तरण गर्नु प्रमाण नष्ट गर्न सरह भएको आयोगको टिप्पणी छ ।
आयोगले जहाज सञ्चालन, मर्मत, लोडिङ, सुरक्षा अभ्यास र नियमनका पक्षमा गम्भीर सुधारको सिफारिस गरेको छ। सरकारले अब यस्तो दुर्घटना दोहोरिन नदिन तुरुन्त सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता छ।















