Logo

३ साउन, सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको निर्देशनमा खानेपानीको मारमा परेको सप्तरी जिल्लाका प्रभावित क्षेत्रमा आपत्कालीन रूपमा खानेपानी आपूर्ति सुरु गरिएको छ । पानीको चरम अभाव झेलिरहेका बस्तीहरूमा प्रदेश सरकार अन्तर्गतका निकायहरूमार्फत तीनवटा पानी ट्यांकर परिचालन गरी राहतको व्यवस्था गरिएको हो ।

मुख्यमन्त्री सिंहले जिल्लामा पानीको गम्भीर संकट उत्पन्न भएकोबारे प्रमुख जिल्ला अधिकारी भोला दाहालबाट जानकारी पाएपछि तात्कालीन राहत स्वरूप खानेपानी आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा वन डिभिजन कार्यालयको एक ट्यांकर र प्रदेश सरकारले थप दुई ट्यांकरमार्फत सेवा सुरु गरेको हो ।

पानी अभावका कारण किसान मर्कामा, बाली सुक्न थाले

गत असार ३२ गते सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पानीको चरम अभावका कारण सप्तरीमा खडेरीको अवस्था देखिएको, धान रोपाइँ प्रभावित भएको, अन्य बाली लगाउन मुस्किल परेको, र अधिकांश बस्तीहरूमा खानेपानीको स्रोत सुक्न थालेको जनाएको थियो । बैठकले संघ र प्रदेश सरकारसँग आपत्कालीन सहयोगको माग गर्ने निर्णय गरेको थियो । त्यसै निर्णयको कार्यान्वयनस्वरूप प्रदेश सरकारले सक्रियता देखाउँदै तत्काल पानी आपूर्तिको काम थालिएको हो ।

प्रभावित क्षेत्रमा तत्काल राहत वितरण

मुख्यमन्त्री सिंहले जिल्ला प्रशासन कार्यालयलाई विशेषतः अति प्रभावित क्षेत्र पहिचान गरी राहतको काम प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिएका छन् । यसबाट खडेरीको चपेटामा परेका ग्रामीण बस्तीका सर्वसाधारणलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरू, किसान तथा सरोकारवालाहरूले यो आपत्कालीन राहत सराहनीय भए पनि दीर्घकालीन समाधानका लागि पानी सञ्चय, भू–जल संरक्षण, सिँचाइ प्रणालीको विस्तारजस्ता संरचनागत उपाय अपनाउन सरकारसँग माग गरेका छन् ।


सम्बन्धित समाचार