Logo

३ साउन, वीरगञ्ज । वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यसहित वीरगञ्ज महानगरपालिका–२४ रामघढवास्थित बजरंग हल क्षेत्रको पूर्व र पश्चिम किनारमा शनिबार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत आयोजना गरिएको उक्त कार्यक्रम राष्ट्रिय चुरे–तराई मधेश संरक्षण विकास समिति, वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त पहलमा तथा फ्रेन्ड्स क्लव अफ रामघढवा वीरगञ्ज, पर्सा को सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता जयप्रकाश खेतानले गरेका थिए । प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी प्रमुख एसपी गौतम मिश्रा उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरका प्रहरी प्रमुख हरि भुसाल सहित अन्य सरकारी तथा गैरसरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

फ्रेन्ड्स क्लव अफ रामघढवाका अध्यक्ष सन्दिप चौरसिया समेतको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा करिब ६० वटा विभिन्न जातका बिरुवा सडक छेउछाउमा रोपिएका छन् । कार्यक्रममा सहभागीहरूले वृक्षारोपणको माध्यमबाट वातावरणीय सन्तुलन कायम गर्न, प्रदूषण न्यूनिकरण गर्न र हरित क्षेत्र विस्तार गर्न यस्ता पहलहरूको महत्व औंल्याएका थिए ।

स्थानीय समुदाय, युवा क्लबहरू तथा प्रहरी सेवाको समन्वयमा सम्पन्न यो कार्यक्रमले वातावरणप्रति सामाजिक उत्तरदायित्व तथा सहभागितामूलक विकासको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । आयोजक संस्थाहरूले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार