प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संघीयता कायम राख्दै प्रदेश सभालाई खारेज गर्नुपर्ने पार्टीको स्पष्ट नीति रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान प्रदेश सभा प्रणालीले जनप्रतिनिधिमूलक कार्यप्रणालीमा प्रभावकारीता ल्याउन नसकेको दाबी गरे।

सांसद झाले भने, “हामी प्रदेशको अस्तित्व स्वीकार गर्छौं, तर प्रदेशसभाको औचित्य छैन। त्यसको सट्टा स्थानीय तहका प्रतिनिधिहरूमार्फत प्रदेश सञ्चालनको व्यवस्था गर्नु उपयुक्त हुन्छ।” उनका अनुसार, स्थानीय तहबाट निर्वाचित प्रतिनिधिहरूले प्रदेश तहमा प्रतिनिधित्व गर्ने वैकल्पिक मोडेलको तयारी रास्वपाले गरिरहेको छ।

उनले पार्टीको नीति अनुसार संघीय सरकारमा हाल रहेका २१ मन्त्रालयलाई घटाएर १५ मा सीमित गर्ने योजना रहेको जानकारी पनि दिए। साथै, विभिन्न कालखण्डमा गठन गरिएका प्रभावहीन आयोगहरू खारेज गर्नुपर्ने पक्षमा रास्वपा रहेको उनको भनाइ थियो।

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेमाथि टिप्पणी गर्दै, “यी दलहरूसँग न त स्पष्ट विचार छ, न सिद्धान्त, न रणनीति। यिनीहरू केवल रास्वपाका दृष्टिकोणको प्रतिक्रिया दिँदै समय बिताइरहेका छन्,” भने।

उनले संसदभित्र सत्तापक्षले प्रतिपक्षका धारणा खण्डन नगरेको भन्दै रास्वपाले अब सत्तापक्षलाई संसदीय अभ्यासको पाठ सिकाउने चेतावनी समेत दिए।

रास्वपाले संघीय ढाँचालाई छोटो र प्रभावकारी बनाउने रणनीति अघि बढाएको यो अभिव्यक्तिले पुनः संघीयताको स्वरूपमाथि बहस चर्काउने देखिएको छ।


सम्बन्धित समाचार