Logo

वीरगञ्जको श्रीपुर विद्यापति टोलमा दमकलबाट पानी लिन पुगेका स्थानीय।

३ साउन,वीरगञ्ज। तीन सातादेखिको खडेरीले वीरगञ्ज महानगरवासीलाई पानीको चरम अभावमा पु¥याएको छ। अधिकांश स्थानका चापाकल सुकेपछि महानगरपालिकाले राहतस्वरूप दैनिक ५ लाख लिटर पानी वितरण गरिरहेको छ।

वीरगञ्ज महानगरपालिका आफैंले दैनिक औसत ४ लाख लिटर पानी आफ्ना विभिन्न साधनमार्फत वितरण गरिरहेको छ। साथै, मधेस प्रदेश सरकारले उपलब्ध गराएका ८ वटा बारुण यन्त्र (दमकल) प्रयोग गरी नेपाली सेनाको सहयोगमा थप १ लाख लिटर पानी वितरण भइरहेको महानगर स्रोतले जनाएको छ।

मेयर राजेशमान सिंहको सचिवालयका अनुसार, वीरगञ्ज महानगरपालिकाको दुईवटा बारुण यन्त्र, एक ट्यांकर र अन्य निजी साधनमार्फत पानी पु¥याउने काम भइरहेको छ। कुल ८ वटा सवारीसाधनले महानगरका विभिन्न वडाहरूमा पालोअनुसार वितरण गरिरहेका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा खटिएको नेपाली सेनाको टोलीले पनि शुक्रबारदेखि सक्रिय रूपमा पानी वितरण गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, प्रदेश सरकारबाट उपलब्ध गराइएका बारुण यन्त्रमध्ये प्रत्येकले दैनिक करिब ५ हजार लिटर पानी बोक्ने क्षमता राख्दछन्। त्यसअनुसार कम्तीमा १ लाख लिटर पानी सेनाको सहयोगमा वितरण भइरहेको छ।

पानी संकलनका लागि वीरगञ्ज महानगरपालिकाले केन्द्र निर्धारण गरेको छ। वितरणमा सबै वडालाई समान प्राथमिकताका आधारमा समेटिएको छ।

पानीको स्रोत नहुँदा धेरै घरमा खाना पकाउनेदेखि सरसफाइसम्मका काम प्रभावित भएका छन्। अझै पनि अधिकांश घरमा खानेपानी संस्थानको पाइप जडान नहुँदा संकट झनै बढेको छ। यस्तो अवस्थामा महानगरको यो पहलले केही राहत दिएको भए पनि दीर्घकालीन समाधानको खाँचो महसुस गरिएको छ।

 

 


सम्बन्धित समाचार