४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गर्दै ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमालाई हटाउने निर्णय गरेको छ । उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधनसम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
गौतमका अनुसार, संशोधन प्रस्तावमा अबदेखि पार्टी सदस्यता संगठित सदस्य र साधारण सदस्य गरी दुई तहमा विभाजन गरिने व्यवस्था गरिएको छ । साथै, जिल्ला कमिटीलाई कार्यकारी अधिकार सम्पन्न कमिटी बनाउने प्रस्ताव पनि पारित गरिएको छ, जसले संगठनात्मक निर्णय र कार्यान्वयनको क्षमता बढाउने अपेक्षा गरिएको छ ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा पुनः सक्रिय हुने कि नहुने विषयमा पनि छलफल भएको थियो । तर उक्त विषयमा कुनै ठोस निर्णय नभएको गौतमले बताए ।
उनका अनुसार, छलफलमा अधिकांश नेताहरूले भण्डारीको पुनः सक्रियता उचित नहुने धारणा राखेका छन्, तर अन्तिम निर्णय अर्को समितिबाट गरिने उल्लेख छ ।
गौतमले भने, “विद्यादेवी भण्डारीले राष्ट्रपति हुन पार्टी सदस्यता स्वेच्छाले त्यागेकी थिइन् । अब उनी पुनः पार्टीमा फर्कन चाहन्छिन् भने सदस्यता नवीकरणको वैधानिक प्रक्रिया आवश्यक पर्छ ।”
उनले थपे, “पार्टीले अहिले गम्भीर छलफल गरिरहेको छ। स्वेच्छाले राजीनामा दिएको व्यक्ति वा पार्टीको जिम्मेवारीमा गएका व्यक्ति पुनः कसरी फर्कन सक्छन् भन्ने विषयमा गहिरो बहस भइरहेको छ। उचित समयमा पार्टीले निर्णय लिन्छ ।”















