४ साउन,वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय पत्रकार रवीन्द्र प्रजापतिले शनिबार बेलुका आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्। गरुडा म्यूजिकल एफएममा कार्यरत प्रजापतिले खानेपानी समस्याबारे समाचार लेखेका कारण केही दिनअघि कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की र गालीगलौज खेपिरहेको स्थानीयले बताएका छन्।
परिवारले झुण्डिएको अवस्थामा फेला पारेपछि उनलाई तत्काल अस्पताल पु¥याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। प्रजापतिको शव हाल पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।
स्थानीयका अनुसार, मेयरको धम्कीपछि पत्रकार प्रजापति अत्यधिक तनावमा थिए र डरले घरबाहिर समेत निस्कन सकेका थिएनन्। यसै कारण पनि उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण रहेको स्थानीयको दाबी छ।
मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धाकधम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेठ २९ गते विज्ञप्ति जारी गर्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको थियो।
यद्यपि, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने, “मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा भएन। घटनाको अनुसन्धान भइरहेको छ।“
प्रजापतिको निधनले रौतहटको पत्रकारिता क्षेत्रमा गहिरो शोक छाएको छ भने यस घटनाले पत्रकारको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी अनुसन्धानले यस आत्महत्याको वास्तविक कारण पत्ता लगाउला वा नलाउला, त्यो भने हेर्न बाँकी छ।

















