४ साउन,काठमाडौं । लामो समयदेखि ’स्लिपिङ प्रिन्स’ भनेर चिनिएका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको शनिबार निधन भएको छ। उनी विगत २० वर्षदेखि कोमामा थिए।
सन् १९९० अप्रिलमा जन्मिएका राजकुमार अल वालिद साउदी शाही परिवारका वरिष्ठ सदस्य राजकुमार खालिद बिन तलालका छोरा र अर्बपति राजकुमार अल वालिद बिन तलालका भतिजा थिए। सन् २००५ मा लन्डनमा सैन्य तालिमका क्रममा भएको भयानक सडक दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो र आन्तरिक रक्तस्राव भएपछि उनी कोमामा गएका थिए।
साउदी सरकारले उनको उपचारका लागि अमेरिका र स्पेनबाट विशेषज्ञ डाक्टरहरूको टोली बोलाए पनि उनी कहिल्यै पूर्ण रूपमा होशमा आउन सकेनन्। यद्यपि, कहिलेकाहीँ उनको शरीरमा हुने सामान्य हलचलले परिवारमा आशा जगाइरह्यो। डाक्टरहरूले चिकित्सकीय रूपमा अचेत घोषित गरे पनि उनका बुबा प्रिन्स खालिदले उपचार रोक्न स्पष्ट रूपमा अस्वीकार गरेका थिए।
दुर्घटनापछि उनलाई रियादको दरबारको एउटा विशेष कोठामा २४ सै घण्टा डाक्टर, नर्स र चिकित्सा सहयोगसहित राखिएको थियो। समय–समयमा राजकुमार अल वालिदको अवस्थाका भिडियोहरू सार्वजनिक हुन्थे, जसमा उनको हात वा आँखाको परेलाको चाल देख्न सकिन्थ्यो। यसले धेरै मानिसहरूलाई एक दिन उनी होशमा आउनेछन् भन्ने आशा दिएको थियो। सामाजिक सञ्जालमा ’स्लीपिङ प्रिन्स’ जस्ता ह्यासट्यागहरू उनका बारेमा ट्रेन्ड हुने गर्थे।
















