Logo

४ साउन,वीरगञ्ज । मधेश प्रदेशको राजनीतिमा फेरि हलचल मच्चिएको छ। जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वको मधेश प्रदेश सरकारले एक वर्ष पूरा गरेसँगै नेपाली कांग्रेस र नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेका छन्। अब मधेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भित्री सहमति भएको बताइएको छ, तर जनमत पार्टी भने सरकार नछाड्ने अडानमा देखिएको छ।

कांग्रेसको शर्तसहितको तयारी

कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले भने तत्काल समर्थन फिर्ता लिने परिस्थिति बनिनसकेको बताएका छन्। उनले जनमत पार्टीले आफैं सरकार छाडेर अर्को दललाई नेतृत्व सुम्पनु उपयुक्त हुने बताए। “जनमत पार्टीको एक वर्षको कार्यकाल पूरा भएको छ। उसले आफैं छोड्नुपर्ने हो। यस विषयमा कुराकानी पनि भइराखेको छ। हेरौं के हुन्छ,“ यादवले भने। यदि जनमत पार्टीले सरकार नछाडे मात्र अन्य कदम चाल्ने उनको भनाइ छ। कांग्रेस र एमालेका मधेश प्रदेशका नेताहरू अहिले काठमाडौंमा छन् र शीर्ष तहमा छलफल गरिरहेका छन्।

जनमत पार्टीको प्रतिवाद

यता, जनमत पार्टी भने सरकार छाड्ने पक्षमा देखिएको छैन। सो पार्टीका संसदीय दलका नेता महेश यादवले तत्काल सरकार छाड्ने सम्भावना नरहेको र कांग्रेस–एमालेले हल्ला मात्र फैलाएको आरोप लगाए। “सरकारको कार्यकाल कति रहने भन्नेबारे गठबन्धनमा कुनै छलफल भएको छैन,“ उनले भने, “कांग्रेस–एमालेका नेताहरूले आफूखुसी कुरा गरेर सरकारलाई अप्ठ्यारोमा पार्न खोजिरहेका छन्।“ उनले कांग्रेसलाई मात्रै सम्झौताको बारेमा थाहा भएको र जनमत पार्टीलाई जानकारी नभएको भन्दै आपत्ति जनाए। “यदि त्यस्तो कुनै सम्झौता भएको भए हामीलाई पनि थाहा हुन्थ्यो। यदि त्यस्तो सहमति भएको छ भने त माथिबाट पनि कुरा आउनुप¥यो,“ महेश यादवले थपे।

मधेश प्रदेश सरकारको भविष्यलाई लिएर अहिले काठमाडौं र जनकपुर दुवैतिर राजनीतिक सरगर्मी बढेको छ। आगामी दिनमा यस विषयले कुन मोड लिन्छ, त्यो भने हेर्न बाँकी छ।


सम्बन्धित समाचार