४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी तीन दिनसम्म भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढीको जोखिमलाई मध्यनजर गर्दै जिल्लाभर उच्च सतर्कता अपनाउन कडा निर्देशन जारी गरेको छ ।
विशेषगरी, तामाकोशी नदी र अन्य खोला(खोल्सी किनारमा बसोबास गर्नेहरूलाई तत्कालै सुरक्षित रहन प्रशासनले सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण जिल्लावासीलाई व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्न र कुनै पनि जोखिम मोल्ने कार्य नगर्न विशेष आग्रह गरेका छन् ।
मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा अन्य भू–भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखाएको छ । यसको सीधा असर दोलखामा पर्ने र नदी तथा खोलाहरूमा पानीको बहाव अत्यधिक बढ्न सक्ने भन्दै प्रशासनले सचेत रहन सूचनामा उल्लेख गरेको छ ।
अनावश्यक यात्रा पूर्ण रूपमा बन्द गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि निर्देशन दिइएको छ । बाढीको जोखिमयुक्त क्षेत्रमा कुनै पनि बहानामा प्रवेश नगर्न र सुरक्षित स्थानमा रहन प्रशासनले पुनः जोड दिएको छ ।
















