Logo

४ साउन, काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिक सक्रियता बढाएका छन्। पछिल्लो समय पार्टी भित्र र बाहिरका नेताहरूसँग भेटघाट तीव्र पारेका कोइरालाले आज आफू निकटका सांसदहरूलाई छलफलका लागि बोलाएका छन्।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा जारी रहेको यो बैठकमा कोइरालाले समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रको भावी रणनीति र अन्य दलहरूसँगको सम्बन्धका बारेमा छलफल गरिरहेको एक संस्थापन इतरका नेताले पुष्टि गरे। कोइरालाको यो सक्रियतालाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ। हालै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनीहरूकै निवासमा पुगेर भेटेका थिए। कोइराला निकट स्रोतका अनुसार उनले अन्य प्रमुख दलका मूल नेतृत्वहरूसँग पनि भेटघाटको क्रम जारी राख्नेछन् ।

यी भेटघाट र छलफलले कोइरालाले पार्टीभित्र आफ्नो पकड थप बलियो बनाउन खोजेको र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका विस्तार गर्न चाहेको संकेत दिएको छ । उनको यो कदमले आगामी दिनमा नेपाली कांग्रेसको आन्तरिक राजनीति र समग्र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ ।


सम्बन्धित समाचार