Logo

४ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पदाधिकारीहरूको हेरफेर विवरण निर्वाचन आयोगमा अद्यावधिक हुन ढिलाइ भएको भन्दै आज आयोगको ध्यानाकर्षण गराएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कानुन विभागका नेताहरूले आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरेका छन् । छलफलपछि महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगबाट पदाधिकारी हेरफेरको प्रक्रियामा विलम्ब भएकोप्रति आफूहरूले चासो व्यक्त गरेको बताए ।

‘विलम्ब नहुनुपर्ने केही कैफियत छ कि भनेर कुरा राख्न आएका थियौं,’ बुर्लाकोटीले सञ्चारकर्मीहरूसँग भने, ‘पार्टीबाट बुझाइएका सबै कागजात आयोगमा पुगेको उहाँहरूले बताउनुभएको छ। पदाधिकारी हेरफेर भएको विवरण हामीले पटक(पटक बुझाइरहेका पनि छौं।’ यो ढिलाइले रास्वपाभित्रको आन्तरिक व्यवस्थापनमा मात्र होइन, कानूनी पक्षमा समेत असर पारेको छ । निर्वाचन आयोगले पदाधिकारी हेरफेर अद्यावधिक नगर्दा पार्टीका एक पूर्वमहामन्त्रीले आफू पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यसले आयोगको प्रक्रियागत ढिलाइले पार्टीभित्रको विवादलाई थप बढावा दिएको देखिन्छ ।

यस घटनाले निर्वाचन आयोगको कार्यशैलीमाथि पनि प्रश्न उठाएको छ, किनकि पार्टीले वैधानिक रूपमा हेरफेर गरेका पदाधिकारीहरूको विवरण समयमै अद्यावधिक नहुँदा त्यसको प्रत्यक्ष असर पार्टीको आन्तरिक र कानूनी मामिलामा देखिएको छ।


सम्बन्धित समाचार