४ साउन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा नाटकीय उतारचढाव देखिएको छ।
नेप्से परिसूचक २९०० अंक माथि पुगेर पनि टिक्न नसकी अन्ततः अघिल्लो दिनकै हाराहारीमा बन्द भएको छ । कारोबारको सुरुवातमा २८७० अंकमा रहेको नेप्से दिउँसो १ बजेसम्म ५२ अंकले बढेर २९२२ मा पुगेको थियो। तर, त्यसपछि एकाएक बिक्री चाप बढ्दा बजार पुनः ओरालो लागेर अघिल्लो दिनकै २८७० अंकमा झरी बन्द भयो । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजनले भने नेप्सेमा सामान्य ०।३२ अंकको वृद्धि देखाएर २८६७ अंकमा पुर्याएको छ ।
११ महिनाकै उच्च कारोबार रकम
बजारमा देखिएको यो उच्च उतारचढावले कारोबार रकममा भने उल्लेख्य वृद्धि ल्याएको छ । आज कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो, जुन गत ११ महिनायताकै (२०८१ भदौ २ यता) सबैभन्दा उच्च रकम हो। यसअघि २०८० साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ ।
कम्पनी र समूहगत अवस्था
आज १०५ कम्पनीको शेयर मूल्य बढ्दा १४४ कम्पनीको घट्यो। समूहगततर्फ, फाइनान्स समूह सबैभन्दा बढी २.२६ प्रतिशतले घट्यो। बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ र व्यापार ०.५० प्रतिशतले घटे।
यता, अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशतले बढ्यो भने होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशतले बढे।
टप गेनर र लुजर
आज सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । सिटी होटलको ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८ र नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशत मूल्य बढ्यो । समृद्धि फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ८.८८ प्रतिशतले घट्यो। दोर्दीखोला हाइड्रोपावरको ४.६१ र पन्चकन्या माइ हाइड्रोपावरको ४.५१ प्रतिशत मूल्य घट्न पुग्यो। रकमका आधारमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप तथा सानिमा माइ हाइड्रोपावरले धेरै कारोबार गरे। हाल बजारको कुल पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ।















