४ साउन काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच जारी संवादलाई केवल औपचारिक भेटभन्दा फरक रूपमा अर्थ लगाएका छन्। उनले यो छलफल पार्टीभित्र पछिल्लो समय देखिएको बहस र असमझदारीको समाधानतर्फ एक महत्वपूर्ण प्रयास भएको बताएका छन्।
च्यासलस्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले भने, “यो भेटघाट केवल व्यक्तिगत संवाद होइन, यसले एमालेभित्र उत्पन्न भएको केही असमझदारी वा अन्योलको मोडल समाधान दिन सक्छ।”
भट्टराईका अनुसार, पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्किने सम्भावनासम्बन्धी सार्वजनिक अभिव्यक्तिपछि पार्टीभित्र छलफल बढेको थियो। “पार्टीका धेरै नेताहरूले यो विषयमा अध्यक्ष ओली र भण्डारीबीच प्रत्यक्ष संवाद आवश्यक छ भन्ने धारणा राखेका थिए,” उनले भने, “त्यही सुझावका आधारमा आजको भेटघाट भएको हो।”
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणबारे उठेको विषयमा उनले स्पष्ट पारे, “सदस्यता नवीकरण प्राविधिक कुरा हो, तर त्यसअघि राजनीतिक रूपमा भूमिका र जिम्मेवारीको कुरो प्रष्ट हुनुपर्छ।”
उनले राजनीतिक कुरा समाधान भएपछि प्राविधिक पक्ष आफैं सहज हुने उल्लेख गरे। “अहिले मूल कुरा राजनीति हो, सदस्यता नवीकरणजस्ता कुरामा बहस गरेर मुख्य विषय ओझेलमा पर्न दिनु हुँदैन,” भट्टराईले दोहो¥याए।
यसरी ओली–भण्डारी भेटघाटलाई एमाले सचिव भट्टराईले रणनीतिक महत्व दिएको संकेत गरेका छन्, जसले पार्टीभित्रको नेतृत्व संरचना, भूमिका र भविष्य रणनीति निर्धारणमा नयाँ मोड ल्याउन सक्ने देखिन्छ।















