५ साउन, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला पोखरामा एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले दिएको जानकारी अनुसार, ७४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो । मृतक महिला चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह लगायतका अन्य स्वास्थ्य समस्या पनि रहेको अस्पताल प्रशासनले जनाएको छ।
खड्काले भने, ‘८ दिनअघि कोरोना पुष्टि भएको थियो र हिजो उहाँको मृत्यु भयो। अन्य रोगहरू पनि भएकाले मृत्युको कारण कोरोनासँगै अन्य कारण पनि हुन सक्छन्, तर कोरोना संक्रमण पुष्टि भएको हो।’
गण्डकी प्रदेशमा बढ्दैछ संक्रमण
गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना कोरोना संक्रमित उपचाररत छन् । तीमध्ये कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना रहेको तथ्याङ्क छ । यस घटनाले कोरोना भाइरसको जोखिम अझै टरिनसकेको र सावधानी अपनाउनुपर्ने आवश्यकतालाई पुनः पुष्टि गरेको छ ।















