Logo

५ साउन, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित एक विद्यालयको कक्षा कोठामा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन् । जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर विद्यालयकै बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

घटना गत साउन १ गते बिहान करिब ४ः ४५ बजे सार्वजनिक भएको थियो । आत्महत्या गरेको आशंकामा प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मृतक मगरले जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग ऋण लिएको थिइन् ।

यादव पेशाले मिटरब्याजी रहेको र मृतकले उनीसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएको, तर त्यसबापत यादवले ४५ लाख रुपैयाँको दाबी गर्दै धम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा पार्क गरिएको स्कुटीको डिक्कीबाट एक सुसाइड नोट बरामद भएको छ ।

नोटमा मानसिक यातना र बारम्बारको दबाबका कारण जीवनबाट वाक्क भएर आत्महत्या गरेको उल्लेख गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले साउन २ गते यादवलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

यादवको घरबाट विभिन्न व्यक्तिका नाममा भएका ९ थान तमसुक, २३ थान जग्गाधनी प्रमाणपत्र, बैंकका भौचर र चेकहरू समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

परिवारजनका अनुसार यादवले मृतकको घरमा पुगेर धम्की दिने, पैसा तिर्न दबाब दिने र चेक बाउन्सको नाममा कारबाही गर्ने चेतावनी दिँदै आएका थिए । मृतकले ऋण लिएको विषय परिवारका केही सदस्यलाई मात्र थाहा थियो । प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


सम्बन्धित समाचार