६ साउन, काठमाडौँ । नेपाल–भारत सहयोगको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउँदै भारत सरकारले मधेश प्रदेशका तीन विद्यालयसहित देशभरका पाँच सामुदायिक विकास परियोजनाका लागि झण्डै ३९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ ।
यसै सन्दर्भमा काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय कार्यान्वयन निकायहरूबीच सोमबार औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
बारा जिल्लाको श्री बेंगा साह माध्यमिक विद्यालयलाई ५ करोड ५० लाखको सहयोग
मधेश प्रदेश अन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेंगा साह माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागि भारत सरकारले ५ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग प्रदान गर्नेछ ।
गाउँपालिका अध्यक्ष विनोद जयसवालका अनुसार, यस सहयोग अन्तर्गत विद्यालयमा तीनतले शैक्षिक भवन, होस्टल र आधुनिक पुस्तकालय निर्माण गरिनेछ । साथै, कक्षा कोठा, शौचालय, सरसफाइ तथा स्वच्छ खानेपानी, विद्युत् आपूर्ति, फर्निचर, कम्प्युटरजस्ता सामग्री समेत उपलब्ध गराइनेछ ।
हाल सो विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने गर्छ, जहाँ करिब २४ सय विद्यार्थी अध्यनरत छन् । तीमध्ये ५० प्रतिशतभन्दा बढी छात्रा छन् । अध्यक्ष जयसवालका अनुसार, “यस परियोजनाले विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्नेछ र सिकाइ वातावरणमा गुणात्मक सुधार ल्याउने विश्वास लिएको छ ।”
परियोजना प्रसौनी गाउँपालिकाले नै कार्यान्वयन गर्ने र टेण्डर प्रक्रियापछि १५ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।
पर्साको विद्यालयलाई १० करोडभन्दा बढी सहयोग
पर्सा जिल्लाको पोखरिया नगरपालिका–६ स्थित एक विद्यालयका लागि १० करोड ४२ लाख रुपैयाँको अनुदान प्रदान गरिनेछ । नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत करिब ६ सय ५० विद्यार्थी रहेको यो विद्यालयमा आधुनिक तीनतले शैक्षिक भवन, प्रशासनिक ब्लक, गेट तथा गार्ड हाउस, शौचालय, बाउन्ड्री वाल, ल्यान्डस्केपिङ, खानेपानी तथा विद्युत् सुविधासहित आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
जनशक्ति माविमा ५ करोड ८० लाखको लगानी
त्यसैगरी, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–३ मा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयका लागि ५ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । कक्षा प्लेग्रुपदेखि कक्षा १० सम्मका ३ सय ४० विद्यार्थी अध्ययनरत यस विद्यालयमा पनि शैक्षिक भवन र आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
पाँच परियोजनाका लागि कुल ३९ करोड रुपैयाँ अनुदान
आजको सम्झौतापत्रमा हस्ताक्षर भएका पाँच उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कुल अनुमानित लागत ३९ करोड रुपैयाँ रहेको छ । तीमध्ये तीनवटा मधेश प्रदेशका बारा, पर्सा र धनुषा जिल्लामा केन्द्रित छन् ।
भारत सरकारको यो सहयोग नेपाली जनताको सामाजिक-आर्थिक उत्थानमा केन्द्रित रहेको दूतावासले जनाएको छ । शिक्षा क्षेत्रमा गरिएको यो पहलले दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई झनै मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।















