Logo

४ साउन,वीरगञ्ज । विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अभियानअन्तर्गत रौतहट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गर्न सफल भएको छ। इलाका प्रहरी कार्यालय, गरुडाको टोलीले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको ब्रेजा कारबाट उक्त लागुऔषध फेला पारेको हो।

प्रहरीका अनुसार ग ३ च ६८९६ नम्बरको ब्रेजा कारलाई झाझ खोला नजिकै रोक्ने प्रयास गर्दा चालकले गाडी लिएर भाग्ने प्रयास गरेका थिए। तत्कालै सक्रियता देखाउँदै प्रहरी टोलीले गाडीलाई पिछा गर्दै नियन्त्रणमा लिएको थियो।

रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार गाडी नियन्त्रणमा लिएपछि प्रारम्भिक खोजतलासमा कारभित्र ठूलो मात्रामा गाँजा फेला परेको हो। “हालसम्म गाडीबाट गाँजा निकाल्ने काम भइरहेको छ,” एसपी गिरीले बताए, “कति परिमाणमा बरामद भयो भन्ने विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।”

प्रहरीले यसअघि लागुऔषध गाडीमार्फत गौरतर्फ ल्याउने सूचना पाएसँगै चेकजाँच कडा पारेको थियो। सोही क्रममा उक्त गाडी प्रहरीको निगरानीमा परेको हो।

प्रहरी स्रोतका अनुसार यस घटनाले लागुऔषध तस्करीको सञ्जालमाथि थप अनुसन्धानको ढोका खोलिदिएको छ। पक्राउ परेका चालकसँग हाल विस्तृत बयान लिइँदैछ।


सम्बन्धित समाचार