६ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ भने चाँदीले नयाँ उच्च रेकर्ड कायम गरेको छ । आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यसको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यद्यपि, यसअघि गत वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ।
चाँदीको नयाँ कीर्तिमान
आज चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढेर प्रति तोला २ हजार ३२० रुपैयाँ कायम भएको छ । यसअघि साउन ३० गते चाँदीको उच्चतम रेकर्ड २ हजार ३१५ रुपैयाँ थियो । बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र अन्य आर्थिक कारणहरूले गर्दा नेपालमा पनि सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको देखिन्छ ।















