६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख सत्ता साझेदार दल नेकपाएमालेले सहमतिभन्दा बाहिर गएर निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन राष्ट्रियसभामा संशोधन प्रस्ताव राखेकोमा आपत्ति जनाएका छन् ।
बिपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा बिपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले यदि एमाले यस्तै गरी सहमतिभन्दा बाहिर चलिरहे दुई दलबीचको सहकार्यमा दरार आउन सक्ने चेतावनी दिएका छन् । उनले भूमि विधेयक हतारोमा पारित गर्न खोजिएकोप्रति पनि असन्तुष्टि जनाए। शर्माले भने, ‘भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। गहन छलफल गरेर समितिमा लगेर दुइटा दलहरूबीचको विमतिलाई पनि घटाएर जानुपर्छ।
छलफल बहस र विमति राख्छ र सँगसँगै सहकार्य परेर पनि जान्छ।’ महामन्त्री शर्माले यी दुई विषय (निजामती विधेयक र भूमि विधेयक) मा प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। यसले गठबन्धनभित्रका प्रमुख दलहरूबीच केही महत्त्वपूर्ण विधेयकहरूमा मतभेद रहेको संकेत गर्छ।















