६ साउन, काठमाडौं । नेपाली कांग्रेसभित्रका प्रभावशाली नेताहरूले सरकारमाथि प्रश्न उठाएका छन् ।
उनीहरुले वर्तमान सरकारको कार्यसम्पादनलाई लिएर पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। हिजो उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएका सात नेतामध्ये पाँच जनाले आज बुढानीलकण्ठ पुगेर सभापति देउवालाई भेटेका छन्। विशेषगरी उनीहरुले नेकपा एमालेसँगको सत्ता सहकार्यको प्रभावकारिता र सरकारभित्र सुशासनको अभावमाथि प्रश्न उठाएका छन्। हिजोको भेलामा सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए। आजको भेटमा भने कोइराला र निधि कार्यव्यस्तताका कारण अनुपस्थित रहे।
सरकारको कार्यशैली र भ्रष्टाचारमाथि प्रश्न
बुढानीलकण्ठ पुगेका नेता गोपालमान श्रेष्ठले सरकारको कार्यसम्पादन प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘सरकार प्रभावकारी बन्न सकेको छैन, हाम्रा मन्त्रीहरूले पनि राम्रो काम गर्नुपर्यो। भ्रष्टाचार काण्डमा मन्त्रीहरू मुछिएका छन्, तिनीहरूलाई कारबाही हुनुपर्यो।’ श्रेष्ठले नियुक्ति प्रक्रियामा पनि पर्याप्त सरसल्लाह नभएको भन्दै यी सबै विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न देउवालाई आग्रह गरेको बताए।
नेताहरूले यो समीकरण आगामी २०८४ को चुनावसम्म कायम राख्नुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए। उनीहरूले रुपन्देही ३ सहितका उपनिर्वाचन, उम्मेदवार चयनको विषय र पार्टी नेता तथा कार्यकर्ता जनताका बीचमा पुग्ने कार्यक्रम अघि सार्नुपर्नेबारे पनि सभापतिको ध्यानाकर्षण गराएका छन्।
देउवाको आश्वासनः ‘सुधारको काम हुँदैछ’
नेताहरूको कुरा सुनेपछि सभापति देउवाले आफू प्रधानमन्त्री ओलीसँग सरसल्लाहमै अघि बढिरहेको जवाफ दिए। देउवाले भने, ‘हामी सल्लाह गरेरै अघि बढ्दैछौं। विस्तारै सुधारको काम हुँदै छ, धेरै प्रश्न उठाउँदा राम्रो सन्देश पनि जाँदैन। मैले प्रधानमन्त्रीसँग कुरा गरिरहेकै पनि छु।’
उनले उपप्रधानमन्त्री सिंहमार्फत पनि आफूहरूले सन्देश पठाएको र संविधान संशोधनको विषय दुई दलबीचको सहमतिमा भएकाले त्यसलाई पनि प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको बताए। यो भेटघाटले सत्ता गठबन्धनभित्र सरकारको कार्यशैली र सुशासनका विषयमा कांग्रेसभित्रैबाट पनि दबाब बढेको संकेत गरेको छ।















