६ साउन, काठमाडौं । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।
गाउँपालिका भवन निर्माण ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी अनियमितता गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । अख्तियारमा असार २६ गते दर्ता भएको उजुरी (दर्ता नम्बर सी–०८३०२९) मा अध्यक्ष थोकर र प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीमाथि गाउँपालिकाको २० कोठे तीनतले भवन निर्माण ठेक्कामा ठेकेदार कम्पनीहरूसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ। गत वर्ष १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त भवनमा ‘हिटिङ’ (तापक्रम नियन्त्रण) सिस्टमको क्राइटेरिया राखिएकोमा उजुरीकर्ताले आपत्ति जनाएका छन् ।
उजुरीकर्ताका अनुसार, यस्तो हिटिङ सिस्टमको क्राइटेरिया सामान्यतया चीनको उच्च हिमाली क्षेत्र र हिउँ परिरहने ठाउँका भवनहरूमा मात्र राखिन्छ, जहाँ बटन थिचेपछि तात्ने प्रविधि जडान गरिएको हुन्छ। नेपालमा त्यस्तो विशेषताको लाइसेन्स भएका कम्पनीहरू नगण्य मात्रामा छन्।
आर्थिक लाभ र छानबिनको माग
उजुरीकर्ताले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफूहरूले चाहेको कम्पनीलाई ठेक्का दिलाउनका लागि यस्तो विशिष्ट क्राइटेरिया तयार पारी आर्थिक लाभ लिएको आरोप लगाएका छन् । उजुरीमा इन्जिनियर सञ्जु शिवाकोटी र सुमन नेपालमाथि पनि छानबिन गर्न माग गरिएको छ।















