Logo

६ साउन, बारा। बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवमाथि सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी सर्वसाधारणमाथि हातपात प्रयास र धम्की दिएको आरोप लागेको छ। कलैया उपमहानगरपालिका–३, गङ्गापुरका विकास साहले आफूमाथि अध्यक्ष यादवले दुर्व्यवहार गरेको बताएका छन्।

पीडित विकास साहका अनुसार, उनी कलैया–गढिमाई सडकखण्डको यामाहा शोरुमअगाडि बाटो काट्दै गर्दा अध्यक्ष यादव चढेको स्कार्पियो गाडी ९मधेस प्रदेश ०३–००१च ७७२२ नम्बरको पछाडिको चक्का पड्किएको थियो। सोही क्रममा अध्यक्ष यादवले आफ्नो मोटरसाइकलले गाडी छोएको बहाना बनाउँदै साहमाथि कडा गालीगलौज गरेको र हातपात गर्न खोजेको साहले बताए।

‘उहाँले मलाई पावर देखाएर चिच्याउनुभयो, कठालो समाउनुभयो, मानसिक रूपमा पनि दबाब दिनुभयो,’ साहले गुनासो गर्दै भने, ‘उहाँले मलाई थुनाउने धम्कीसमेत दिनुभयो।’ यस घटनापछि स्थानीय बासिन्दाहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले जनप्रतिनिधिलाई जनताको सेवाका लागि पठाए पनि उनीहरूले रक्सी सेवन गरी जनतालाई अपमान गर्न थालेको भन्दै यस्तो व्यवहारले लोकतान्त्रिक मूल्य र गाउँपालिकाको गरिमामा आँच पुगेको बताएका छन्। प्रत्यक्षदर्शी स्थानीयवासीहरूले ट्राफिक प्रहरीले समेत अध्यक्षको प्रभावमा आएर पीडितको पक्ष नलिएको आरोप लगाएका छन्।

नागरिक समाज र अधिकारकर्मीहरूले सार्वजनिक पदमा बसेका व्यक्तिले यस्तो गैरजिम्मेवार र अपमानजनक व्यवहार देखाउनु गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

यो घटनाले स्थानीय तहमा देखिएको सत्ताको दुरुपयोग र नैतिक पतनलाई उजागर गरेको छ। सर्वसाधारणले अब राज्य, प्रहरी प्रशासन र सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्।


सम्बन्धित समाचार