Logo

६ साउन,काठमाडौं । संसदमा लामो समयदेखि चलिरहेको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूसँग विशेष छलफल गरेका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाको उपस्थितिमा मंगलबार भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ सहभागी थिए।

छलफलका क्रममा सभामुख घिमिरेले संसद अवरुद्ध भइरहँदा लोकतान्त्रिक अभ्यास प्रभावित भएको भन्दै सबै दललाई सहमतिमा पुग्न आग्रह गरे। उनले भने, “तपाईंहरूको मुद्दा र विचारप्रति मेरो आपत्ति छैन, तर संसद नचलेर आम जनतामा नकारात्मक सन्देश जान थालेको छ।“

कानुनमन्त्री चौरसियाले सरकार विपक्षी दलप्रति संवेदनशील रहेको भन्दै छानबिन समिति गठन भइसकेको जानकारी दिए। उनले दलहरूलाई सहमतिको मार्गमा आउन लचिलो हुन अनुरोध गरे।

रास्वपाका नेता डीपी अर्यालले भने सरकारले गम्भीर विषयवस्तुमा बेवास्ता गरेको आरोप लगाए। उनले भने, “सभामुखको पहल प्रशंसनीय छ, तर सरकारले आवश्यक संवेदनशीलता देखाउन सकेको छैन।“

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले विजिट भिसा प्रकरणलाई लिएर उठाइएको प्रश्नलाई अझै बेवास्ता गरिएको भन्दै संसद अवरोध हटाउन सहमति आवश्यक रहेको जिकिर गरे। “बैरागी छानबिन समितिले संसदमा अहिलेसम्म रिपोर्टसमेत बुझाएको छैन,“ तामाङले टिप्पणी गरे।

छलफल निष्कर्षमा पुग्न नसके पनि सभामुखको प्रयास सकारात्मक रहेको बताइएको छ। विपक्षी दलहरूले उठाएका विषयहरू सम्बोधन नगरेसम्म संसद सञ्चालन चुनौतीपूर्ण हुने संकेत बैठकमा देखिएको छ।


सम्बन्धित समाचार