६ साउन,वीरगञ्ज । मधेश प्रदेशको ऐतिहासिक र पर्यटकीय महत्व बोकेको ठोरी गाउँपालिकाको लागि तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भ्रमण अन्तिम समयमा स्थगित भएको छ। पर्सा जिल्लाको ठोरीमा यही साउन ९ गते आयोजना हुने कार्यक्रममार्फत ‘निर्मलबस्ती खानेपानी आयोजना’ उद्घाटन गर्ने तयारी गरिएका प्रधानमन्त्री ओली राजनीतिक व्यस्तता र हाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँग सम्बन्धित बहसका कारण भ्रमणमा जान नसक्ने भएका हुन्।
भ्रमणको तयारीमा ठोरी गाउँपालिकासहित स्थानीय निकाय, एमाले पार्टी संगठन र सर्वसाधारण पूर्ण सक्रिय थिए। कार्यक्रम अन्तर्गत ठोरी–२ स्थित राइधारा परिसरमा भव्य स्वागत समारोह आयोजना गर्ने योजना थियो। तर प्रधानमन्त्रीको भ्रमण स्थगन भएपछि ती सबै तयारी अलपत्र बनेका छन्।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सोमबार राति प्रधानमन्त्रीको भ्रमण स्थगित भएको पुष्टि गर्दै यसप्रति स्थानीय स्तरमा निराशा व्यक्त भएको बताए। उनका अनुसार, “प्रधानमन्त्री ओलीको आगमनले ठोरीको पर्यटन, पूर्वाधार विकास र राजनीतिक महत्वलाई थप उचाइ दिने अपेक्षा गरिएको थियो।”
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली अहिले पार्टीको नवौं केन्द्रीय समिति बैठक र पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भूमिकाबारे उत्पन्न बहसमा व्यस्त छन्। पार्टी स्रोतका अनुसार, अहिलेको संवेदनशील राजनीतिक परिस्थितिका कारण ओलीको भ्रमण प्राथमिकतामा रहन सकेन।
स्थानीयवासीहरूले भने प्रधानमन्त्रीको भ्रमण स्थगन हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनीहरूका अनुसार, यस्तो भ्रमणले ठोरीजस्ता दुर्गम क्षेत्रमा संघीय सरकारको पहुँच र चासो बढाउने अवसर दिने थियो।
अब प्रधानमन्त्रीको भ्रमण कहिले सारिने भन्ने विषयमा भने कुनै औपचारिक घोषणा गरिएको छैन।















